थासाङ गाउँपालिका–४,घाँसामा अवस्थित जनता आधाुरत विद्यालयमा कक्षा ८ मा अध्ययनरत मेलिना घर्ती मगरले मुस्ताङमा पाइने बन,बन्यजन्तु र चराचुरूङ्घीका बारेमा चासो देखाउनुहुन्छ । प्रकृति र वन्यजन्तु संरक्षण तथा सुरक्षासम्बन्धी विषयमा कक्षाकोठा र विभिन्न स्थानमा पुगेर सिकेको ज्ञानलाई साथीहरूलाई समेत सुनाउने गर्नुहुन्छ ।
मेलिनाले अहिले बन, बन्यजन्तु तथा प्राकृति संरक्षणका लागि विद्यालयस्तरमा हुने विभिन्न कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउने गर्नुभएको छ । मुस्ताङका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमले स्थानीय पाठ्यक्रम प्रयोगमा ल्याएपछि विद्यार्थीले प्राकृतिक स्रोतसाधनमा हुने विभिन्न गतिविधिका बारेमा चासो देखाउने गरेका छन् ।
विद्यार्थी मेलिना घर्ती मगर भन्नुहुन्छ,‘‘पहिला किताबको ज्ञान बाहेक केही जानकारी थिएन, अहिले गाउँघरको प्राकृतिक स्रोतसाधनको संरक्षणमा चासो बढेको छ ।’’आफ्नो क्षेत्रमा हुने चोरीनिकासीका बारेमा पनि धेरै जानकारी पाएको विद्यार्थी मेलिनाको भनाई छ। एक्यापले तत्लो मुस्ताङको ११ विद्यालयका लागु गरेको स्थानीय पाठ्यक्रम अन्तरगत आफ्नो क्षेत्रमा रहेका विभिन्न स्थानमा भ्रमण गराउने, सामुहिक पठन क्रियाकलाप गर्ने, वन, वन्यजन्तु तथा वातावरण संरक्षण सहित आसपासका क्षेत्रमा वातावरण दुषित गराउन हुने फोहोरमैला व्यवस्थापन सहित स्थानीयस्तरमा देखिएका परिवर्तनका बारेमा जानकारी गराउने गरिएको जनता आधारभुत विद्यालयका प्रधानध्यापक तेजनारायण पौडेलले बताउनुभयो ।
प्रअ पौडेल भन्नुहुन्छ,‘‘पाठ्यपुस्तकमार्फत विद्यार्थीले आफ्नो समुदाय पढ्न पाएका छन्, हामीले स्थलगत अनुगमनपछि विद्यालयमा पनि अनुभव सुनाउन लगाउँछौ ।’’विद्यालयमा हरित समूहको नयाँ कार्य समितिमार्फत विद्यालयस्तरमा समेत अतिरिक्त क्रियाकलापमा वन र वन्यजन्तु, चोरीसिकार, जलचर, संस्कृति र पर्यटन, प्राकृतिक विपद् र जलवायु परिर्वतन लगायतका विषयमा प्रतियोगिता समेत गरिन्छ ।
संरक्षण शिक्षा लागु भएका जनहिन मावि जोमसोम, धौलागिरी आवासीय मावि जोमसोम, जनकल्याण आवि स्याङ, जनबल मावि मार्फा, योगेन्द्र मावि टुकुचे, जन आर्दश अमरसिंह मावि कोवाङ, ज्ञानोदय मावि लेते, कालोपानी, जनता आवि घाँसा, ताग्लुङ आवि कुञ्जो, जनशान्ति मावि कागबेनी र लुप्रा आवि लुप्रामा पाठ्यक्रमअन्तर्गत अनिवार्य रूपमा संरक्षण शिक्षाको पठनपाठन हुने एक्याप जोमसोमका रेञ्जर दिपक ओलीले मानव वन्यजन्तु द्वन्द्व कम गर्ने र संरक्षणका लागि विद्यालयस्तरमा भइरहेका गतिविधिले समुदायमा छिटो सन्देश प्रवाह भएको बताउनुभयो ।
बस्तीमा वन्यजन्तुका कारण हुने मानवीय क्षति रोक्न र चोरी निकासीका लागि विद्यार्थीसँगको साक्षात्कार फलदायी भएको रेञ्जर ओलीको भनाई छ । विद्यार्थीलाई कक्षाकोठामा शैद्धान्तिक र स्थलगत भ्रमणमा ब्यवहारिक ज्ञान सिकाउने गरिन्छ । एक्यापले विद्यालयलाई बार्षिक रुपमा गतिविधि सञ्चालन गर्न ब्यवस्थापन खर्च समेत दिने गरेको छ ।