नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा हिरक महोत्सव शुरु भएको हो ।
आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ देखि आधार शिविरसम्मको पदयात्रा टोलीलाई शनिबार साँझ पदमार्गको प्रवेशबिन्दु नारच्याङ बेशीमा स्वागत गरेर महोत्सव शुभारम्भ गरिएको हो ।
आइतबारदेखि शुरु हुने पदयात्रा टोलीमा सहभागि हुन आएका अन्नपूर्णका प्रथम आरोही मौरिस हर्जोग छोरा फ्रान्सका माथिएस हर्जोग लगायत १४ जना विदेशी, पर्यटन ब्यवसायी, पत्रकारको टोलीलाई अन्नपूर्ण गाउँपालिका, ४ नं. वडा कार्यालय, अन्नपूर्ण, जनजागरण युवा क्लव र सिर्जनशिल आमा समूहले स्वागत गरेका थिए ।
प्रथम आरोही मौरिसका छोरा माथिएस, नाती इथेन हर्जोग लगायत फ्रान्सका छ, बेलायतका तीन, भारतका पाँच र इटलीका एक जना पाहुना नेपाल सरकारको निमन्त्रणामा हिरक जयन्तीको कार्यक्रममा सहभागी हुन आउनुभएको छ ।
उहाँका अनुसार नारच्याङ वेशी देखि हुमखोला, फुतफुते झरना, साँधीखर्क, भुसकेत, पञ्चकुण्ड ताल हुदै जेठ १९ गते चार हजार एक सय मिटर उचाईमा रहेको अन्नपूर्ण आधार शिविरमा पुग्ने मौरिस हर्गोज पदमार्गको पदयात्रा टोलीमा करिब दुई सय जना सहभागी छन् । माथिएस हर्गोजसँग आउनुभएका फ्रान्सका कलाकारहरुले प्रथम आरोहीको सम्मानमा संगित प्रस्तुत गर्नुभएको थियो । उहाँहरुले जेठ १९ गते साँझ अन्नपूर्ण आधार शिविरमा पनि सागितिक प्रस्तुति गर्ने कार्यक्रम छ ।
नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्म भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनामा आगामी जेठ २२ गतेसम्म बिविध कार्यक्रम गरेर हिरक महोत्सव मनाइने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो ।
आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिज हर्गोज र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो ।
महोत्सवको अवसरमा जेठ १९ र २० गते अन्नपूर्ण गाउँपालिकाका ८ वटै वडाको सहभागितामा मगर संस्कृतिमा आधारित पुर्खौली नृत्य, झाँकी तथा खुल्ला नृत्य प्रतियोगिता आयोजना गरिएको छ ।
जुन ३ अथवा जेठ २० गते प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा आधार शिविरमा राखिएका आरोहीका शालिक अनावरण, संग्रहालय र मौरीस हर्गोज पदमार्गको उद्घाटन, नारच्याङ वेशीमा मुल समारोह, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम हुने अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताउनुभयो ।
२० गते हुने आधार शिविर देखि नारच्याङसम्म म्याराथन दौड प्रतियोगितामा म्याग्दीका ४२ जना धावकहरुले नाम दर्ता गराएका छन् । २१ गते पर्यटकीय स्थल घोडेपानी पुनहिलमा पदयात्रा गर्ने कार्यक्रम छ ।
२२ गते पोखरामा प्रथम आरोही हर्जोगले प्रयोग गरेका उपकरण उनका परिवारबाट नेपाल पर्वतारोहण संघद्धारा सञ्चालित अन्तराष्ट्रिय पर्वतीय संग्रहालय पोखरालाई हस्तान्तरण र हर्गोजले लेखेर फ्रान्सेली राजदुतावासले अनुवाद गरेको पुस्तक ‘द अन्नपूर्ण’को विमोचन गर्ने कार्यक्रम तय भएको छ ।