गत बैशाख ५ गते यहाँको बेनी नगरपालिका–१ रत्नेचौर बेलबोटमा नेपाल विद्यु्त प्राधिकरणको ३३ केभी प्रशारण लाइनबाट करेन्ट प्रवाह भई एक जनाको ज्यान गयो ।
बस्तीमा घर नजिकै रहेको हाइटेन्सन लाइनबाट करेन्ट प्रवाह भएर १६ वर्षिय शिव थापाको ज्यान गएको हो । घरसँगै जोडिएको नाङ्गो विद्युत लाइनका कारण बेनपा वडा नं १ सारेमारे, बेलबोट र बस्तीका सर्वसाधारण त्रसित छन् ।
यता पश्चिमी म्याग्दीको बेनी नगरपालिका ६ डम्मरा,४ सिंगा,मंगला गाउँपालिकाको बाबियाचौर लगाएतका ग्रामीण क्षेत्रमा पनि अग्ला रुख र घर नजिकैबाट विद्युत लाइन विस्तार भएकाले उच्च जोखिमको सामना गर्नुपरेको स्थानीयले बताएका छन् ।
बेनी नगरपालिका २ बगरफाँटका टेकबहादुर कार्कीले अग्ला रुखको छोडा हुँदै घर नजिकैबाट विद्युत लाइन लगिएकाले आफूलाई कतिबेला विद्युत सर्ट भएर मरिने हो भन्ने डर लाग्न थालेको बताउनुभयो ।
नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रका केन्द्र प्रमुख सत्यनारायण गामीले केही गाउँहरुमा समस्या रहेको बताउँदै केन्द्रले यो समस्या समाधान गर्नका लागि पहल गरिरहेको जानकारी दिनुभयाे । यसै विच नेपाल सरकारका उर्जा ,जलस्रोत तथा सिंचाइ राज्य मन्त्री खमबहादुर गर्बुजाले बस्तीसँगै जोडिएको हाइटेन्सन लाइनको विवरण उपलब्ध गराउन नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रलाई निर्देशन दिनुभएकाे छ ।
ऊर्जा राज्यमन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्लामा आउनुभएका राज्यमन्त्री गर्बुजाले वैशाख ५ गते हाइटेन्सन लाइनका कारण करेन्ट प्रवाह भएर मृत्यु भएका शिव थापाको परिवार लगाएत हाइटेन्सन लाइनका कारण मर्कामा परेका अन्य परिवारलाई उचित क्षतिपुर्तिसहित हाइटेन्सन लाइनको समस्या हटाउन केन्द्र प्रमुख प्रमुख गामीलाई निर्देशन दिनुभएकाे थियाे ।
बस्ती, सडक, खेतबारीमा विद्युत पोलबाट हुने करेन्ट प्रवाहका कारण मानवीय तथा भौतिक क्षतिलाई न्यूनिकरण गर्न तत्काल कार्यालयबाट मन्त्रालयमा विवरण पठाउन पनि राज्यमन्त्री गर्बुजाले निर्देशन दिनुभयाे। म्याग्दीमा रहेका विद्युतको ट्रासफर्मर पुराना भएका, खुल्ला स्थानमा हुदाँ दुर्घटनाको जोखिम बढेको, पुरानो र कम क्षमताका ट्रासफर्मर परिवर्तन गर्नुपर्ने केन्द्रप्रमुख गामीले बताउनु भयाे।