अन्नपूर्णको दाना र घारमा बालविवाह तथा दाइँजो प्रथा न्यूनीकरणबारे सचेतना

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारमा सामाजिक कुरिती विरुद्धको अभियानअन्तर्गत बालविवाह र दाइँजो प्रथा न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय र मिलन म्याग्दीको आयोजना तथा अन्नपूर्ण गाउँपालिकाको सहकार्यमा शुक्रवार कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले समुदायमा हुने बालविवाहलाई अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले २० वर्ष उमेर पुरा भएपछि मात्रै विवाह गर्नुपर्ने बताउँदै कसैले ललाइफकाई वा जबरजस्ती विवाह गरिदिएमा कानुन अनुसार दण्ड र सजाय हुने बताउनुभयो । उहाँले सानै उमेरमा विवाह गर्नाले पछि गएर महिलाको स्वास्थ्यमा विभिन्न समस्याहरु देखिने हुँदा सतर्क रहनुपर्नेमा जोड दिनुभयो ।

सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख तारानाथ सुवेदीले कार्यालयमार्फत समुदायस्तरमा महिला, बालबालिका, ज्येष्ठनागरिक, अपाङ्गता, अल्पसङ्ख्यक, यौनिक अल्पसङ्ख्यक समुदाय लक्षित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने गरिएको बताउनुभयो । उहाँले सामाजिक विकास कार्यालयले सचेतनामूलक थुप्रै कार्यक्रमहरु गर्दै आइरहेको बताउँदै समुदायमा रहेको कुरिती, अन्धविश्वास, दाइँजो र बालविवाह जस्ता समस्याहरुको समाधान गर्नको लागि स्थानीयवासी तथा सरोकारवाला सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

म्याग्दीका प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले समुदायमा हुने मानवअधिकार उल्लङ्घन तथा जघन्य अपराधहरुको बारेमा प्रहरीलाई समयमै सूचना दिन आग्रह गर्दै समाजमा अमनचयन र शान्ति कायम गर्न सम्बन्धित सबै पक्षहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले ग्रामीण क्षेत्रमा रहेको बालविवाह, लैङ्गिक हिंसा, घरेलु समस्यालगायत घटनाहरुको पहिचान गरी कानुनी उपचार तथा सचेतना फैलाउने उद्देश्यले कार्यक्रम गरिएको जानकारी दिनुभयो । मिलन म्याग्दीले जिल्लास्थित विभिन्न पालिका र कार्यालयसँगको समन्वयमा सचेतनाका कार्यक्रमहरु गर्दै आइरहेको जनाएको छ ।

उक्त कार्यक्रममा बालविवाह न्यूनीकरण गर्नको लागि समुदायस्तरमा सञ्चालन गर्न सकिने सचेतनामूलक कार्यक्रमहरुको कार्ययोजना समेत निर्माण गरिएको छ । कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष पुनले राष्ट्रिय महिला अधिकार दिवस, बालविवाह, कानुनी उपचार तथा प्रहरी नायव उपरीक्षक थापाले नेपालमा बालविवाहको अवस्था, कारण, असर, न्यूनीकरणका उपायहरु तथा कानुनी व्यवस्था र दाइँजो प्रथा, मिलन म्याग्दीका अध्यक्ष बिटालुले बालविवाह न्यूनीकरणको कार्ययोजना निर्माणमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रमको समापन गर्दै अन्नपूर्ण–६, घारका वडा अध्यक्ष रामबहादुर खड्काले वडास्तरमा बालविवाह न्यूनीकरण, लैङ्गिक र घरेलु हिंसाको अन्त्य, सुरक्षित समाज निर्माणलगायत विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताउनुभयो । वडाध्यक्ष खड्काको अध्यक्षता र मिलन म्याग्दीका कर्मचारी राम खड्काको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागी विष्णु बरुवालले अनुभव सुनाउनुभएको थियो ।

सोही कार्यक्रमकै अवसरमा सातौं राष्ट्रिय महिला दिवसको अवसर पारेर घारमा प्रभातफेरी ¥यालीसहित सचेतनामूलक कार्यक्रम पनि सम्पन्न भएको छ । महिला अधिकारसँग सम्बन्धित विभिन्न नाराहरु लेखिएका प्लेकार्डसहित गाउँ परिक्रमा गर्दै महिला अधिकार दिवस मनाइएको थियो ।

यसअघि बिहीबार अन्नपूर्ण–३, दानामा पनि सामाजिक कुरिती विरुद्धको अभियानअन्तर्गत बालविवाह र दाइँजो प्रथा न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष रमेश पूर्जाको अध्यक्षतामा कार्यक्रम गरिएको थियो ।