म्याग्दीको बेनी नगरपालिका–१ लामगरामा रहेको युवा वर्ष आधारभूत विद्यालयका तीन कक्षामा विद्यार्थी संख्या शून्य भएको छ।
कक्षा चारसम्म पठनपाठनको अनुमति पाएको यो विद्यालयको कक्षा २, ३ र ४ मा नयाँ शैक्षिक सत्र २०८२ मा भर्ना हुने विद्यार्थीको संख्या शून्य छ। प्रधानाध्यापक खिमबहादुर चर्माकारले बालकक्षामा चार र कक्षा १ मा तीन विद्यार्थी मात्र रहेको बताए।
उनले भने, ‘गत वर्ष कक्षा ४ मा तीन, ३ र २ मा एक/एक र १ मा तीन विद्यार्थी थिए। कक्षा ४ उत्तीर्ण गरेका विद्यार्थी माथिल्लो तह पढ्न गए। सारेमारे टोलबाट आउने कक्षा २ र ३ का विद्यार्थी टाढा भएपछि अन्य विद्यालयमा भर्ना भए।’
कक्षा १ का विद्यार्थीको उमेर कम भएको र सिकाइ सुधारका लागि कक्षा दोहोर्याइएको छ। बालकक्षामा भने नयाँ विद्यार्थी भर्ना गरिएको चर्माकारले बताए। युवा वर्षको सेवा क्षेत्रमा पर्ने आनन्दबगर, लामगरा, सिम र सारेमारे टोलमा भर्ना प्रोत्साहन गर्न विद्यालय व्यवस्थापन समिति र शिक्षकले घरदैलो गरेका थिए।
आनन्दबगर र सारेमारे टोल टाढा भए पनि नजिकैको लामगरा र सिमका अभिभावकले बेनीका सामुदायिक र निजी विद्यालयमा छोराछोरी पठाउन थालेपछि पछिल्लो पाँच वर्षदेखि विद्यार्थी संख्या घट्दै गएको व्यवस्थापन समितिका अध्यक्ष भविराम थापाले बताए।
लामगरा र सिममा करिब ५० घरपरिवार छन्। अङ्ग्रेजी माध्यमबाट पठनपाठन, पुस्तकालय, बालमैत्री शिक्षण विधि, विपन्न विद्यार्थीका लागि पोसाक र शैक्षिक सामग्रीको व्यवस्था गरिए पनि अभिभावकले बेवास्ता गरेको थापाले गुनासो गरे।
विसं २०४१ मा स्थापना भएको यो विद्यालयमा पहिले एक सय जनासम्म विद्यार्थी थिए। सिकाइ उपलब्धि ९५ प्रतिशत छ। विद्यार्थी संख्या कम भएपछि गत वर्ष बेनी नगरपालिकाले एक कक्षा घटाएर चार कक्षासम्म कायम गरेको थियो।
विद्यालयमा हाल दुई स्थायी शिक्षक, एक निजी स्रोतका शिक्षक र एक सहयोगी कर्मचारी छन्। बेनी नगरपालिकाले विद्यार्थी नभएका कक्षा घटाउने र शिक्षकलाई विद्यार्थी धेरै भएको नजिकको विद्यालयमा व्यवस्थापन गर्ने नीति लिएको छ।
युवा वर्षलगायत विद्यार्थी कम भएका विद्यालयको सघन अनुगमन गरेर आवश्यक निर्णय लिइने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए।