धवलागिरी गाउँपालिका-७, धारापानीका पूर्व विद्यार्थी संघले धारापानी गाउँको चिनारी ‘धारापानी गाउँमा स्वागतम’ को म्युजिक भिडियो बजारमा ल्याएको छ । चर्चित मोडल सुधिर श्रेष्ठ र अस्मि थापाले अभिनय गर्नुभएको म्युजिक भिडियोमा अन्नपूर्ण जगन्नाथ मन्दिर कोट, धारापानी गाउँको प्राकृतिक दृश्यहरु, मौलिक संस्कृति तथा विद्यालय कार्यक्रम लगायत अन्य धारापानीको सेरोफेरो प्रस्तुत गरिएको छ ।
झलक विरही र धर्तीमा थापामगरको स्वर रहेको स्वागत गीतमा एरेन्जर राजु सुनाम, निर्देशक प्रविन थापा सहित भिडियो राजेश घिमिरे र सम्पादन अमृत चापागाई को रहेकोछ । धौलागिरी हिमालको प्रवेशद्वार रहेको धारापानी गाउँको चिनारी देश तथा बिदेशमा पुर्याई धारापानी गाउँ एकपटक पुग्नैपर्ने इच्छा प्रकट गरिएको पूर्व विद्यार्थी संघका अध्यक्ष क्या भरत बहादुर थापाले बताउनुभयो ।
पूर्व विद्यार्थी संघका कोषाध्यक्ष उमेश रानाले देश तथा बिदेशमा रहेका धारापानी म्याग्दी वासीहरुको सहयोगमा गीत र भिडियो तयार गरिएको बताउनुभयो । यो म्यूजिक भिडियोले धारापानीलाई थप चिनाउन सघाउने संघका कोषाध्यक्ष रानाको भनाई छ ।
गाउँ तथा श्री किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयको समग्र विकासका लागि सहयोग गर्दै आएको पूर्व विद्यार्थी संघले आगामी दिनमा पनि यस्तै सहयोग गरी गाउँको चौतर्फी विकासमा योगदान पुर्याओस भन्ने अपेक्षा रहेको स्थानीय विकास केसी बताउनुभयो । धवलागिरी गाउँपालिकाको प्रवेशद्धार मानिने धारापानी हुदै विश्वको सातौं अग्लो धौलागिरी हिमाल, ढोरपाटन, रुकुम लगायतका क्षेत्रमा समेत आवतजावत गर्ने गरिन्छ । यो गुरिल्ला पदमार्गको म्याग्दी खण्डको प्रवेश गन्तब्यको रुपमा समेत चिनिन्छ ।