अन्नपुर्ण प्रथम हिमालमा म्याराथुन दौड हुने, प्रथम पुरस्कार ५० हजार

0
7

म्याग्दीको प्रमुख पर्यटकीयस्थल अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा जाने मौरिस हर्जोग पदमार्गमा पहिलोपटक म्याराथन दौड प्रतियोगिता हुने भएको छ । आधार शिविरमा रहेको पञ्चकुण्ड तालदेखि नारच्याङ गाउँसम्म म्याराथन प्रतियोगिता आयोजना हुने भएको हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पुगेको अवसरमा आधार शिविरदेखि नारच्याङ गाउँसम्म म्याराथन दौड प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिता संयोजक पर्यटन ब्यवसायी इन्द्रसिङ शेरचनले बताउनुभयो ।

चार हजार एक सय मिटरको उचाईमा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविरदेखि नारच्याङसम्म मौरिस हर्जोग पदमार्गको ३० किलोमिटर दूरीमा म्याराथुन दौड प्रतियोगिता आयोजना गरिएको छ । म्याराथन दौड प्रतियोगितामा जिल्ला भित्रका स्थानीय तहबाट मात्र सहभागी हु्न पाउने छन् । अन्नपूर्ण गाउँपालिका भित्र रहेका प्रत्येक वडाबाट पाँच÷पाँच जना र अन्य स्थानीय तहबाट दुई÷दुईजनाका दरले सहभागी हुने छन् ।

अन्नपूर्ण आरोहण गरेको दिन जेठ २० गते बिहान ९ बजेदेखि आधार शिविरबाट म्याराथन दौड प्रतियोगिता सुरु हुने छ । आधार शिविरबाट सुरु भएको दौड भुस्केटमेला, गुफाफाँट, फुतफुते झरना, हुमखोला, छोटेपा हुँदै नारच्याङ गाउँ आएर समापन हुने छ ।

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीय ३० हजार र तृतीयलाई २० हजार रुपियाँ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ ।

महोत्सवमा प्रधानमन्त्री केपी शर्मा ओली आउनुहुने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीबाट जेठ २० गते बिहान ९ बजे आधार शिविरमा राखिएका अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली सहयोगी सोनाम वाङ्चुक शेर्पाको शालिक अनावरण र आधार शिविरमा निर्माण गरिएको खुला सङ्ग्रहालय तथा मौरिस हर्जोग पदमार्गको उद्घाटन गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन बोर्ड, पर्वतारोहण सङ्घ, एक्याप र स्थानीय पर्यटन व्यवस्थापन समितिको अगुवाईमा अन्नपूर्ण हीरक महोत्सव आयोजना गर्न लागिएको हो ।