मल्लाजका बिनायकजय मल्लले ५ पटक सगरमाथा आरोहण

0
44

पर्वत जिल्ला जलजला गाउँपालिका–३,मल्लाजका बिनायकजय मल्लले विश्वको सर्वोच्च शिखर सगरमाथामा ५ पटक आरोहण गर्नुभएको छ । ३७ बर्षिय मल्लले सन् २०१७ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो ।
इलाइट एक्सपेडमा कार्यरत अन्तर्राष्ट्रियस्तरमा गाइडको लाइसेन्स प्राप्त मल्लले म्याग्दीको धवलागिरी गाउँपालिकाको मुदीमा अवस्थित धौलागिरी हिमालमा सन् २०१७ मा आरोहण गर्नुभएको थियो ।

त्यसैगरी मनास्लुमा ५ पटक, ल्होत्से हिमाल १ पटक आरोहण गरेको मल्लले बताउनुभयो । ‘‘आरोहण बाहेक उद्धारमा पनि धेरै ठाउँमा पुगेको छु, मृत्युको मुखमा पुगेका आरोहीलाई नयाँ जिवन दिन पाउँदा पेशाप्रति गर्व लाग्छ’’ मल्लले भन्नुभयो ।

८ हजार मिटर अग्ला हिमाल बाहेक यूरोप, इण्डोनेसिया,पाकिस्तानको हिमालमा दर्जनभन्दा बढीपटक आरोहण गरेको मल्लको भनाई छ । हिमाल आरोहणजस्तो चुनौतीपूर्ण यात्रामा निरन्तर समर्पण, साहस र मेहनत आवश्यक पर्ने मल्लले बताउनुभयो ।

हिमाल आरोहण टोलीसँगै मल्ल केहीदिनमा पाकिस्तान जादै हुनुहुन्छ । म्याग्दी र पर्वत क्षेत्रको पर्यटन प्रर्वधनका कार्यहरुमा समेत सक्रिय रहनुभएका मल्लले किर्तीमानी आरोही निर्मल पूर्जाबाट प्रभावित भएको बताउनुहुन्छ । उहाँले हिमाल आरोहणसँगै पर्यटन प्रर्बधनका क्षेत्रमा आगामी दिनमा समेत झनै सक्रिय हुने बताउनुभयो ।

यो सँगै सगरमाथामा धौलागिरी क्षेत्रबाट निर्मल पूर्जा निम्स पछि सबैभन्दा धेरै आरोहण गर्ने आरोहीमा मल्ल हुनुभएको छ । मल्लले नेपाल र विश्वका विभिन्न देशमा रहेका ८ हजार मिटर अग्ला १४ वटै हिमाल आरोहण गर्ने लक्ष्य रहेको बताउनुभयो ।