कृषिमा रैथाने सीप र प्रविधि बढाउन ‘आइपिएम’ कृषक पाठशाला’

0
22

बेनी नगरपालिका–६ डम्मराका किसानले खेतीबालीमा लाग्ने रोग कीराको उपचारमा रैथाने सीप र प्रविधिलाई प्रयोगमा ल्याउन थालेका छन् । बेनी नगरपालिकाले सञ्चालन गरेको एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशालामा व्यावहारिक ज्ञान, सीपको क्षमता विकास गरेर किसानहरूले खेतीबालीमा लाग्ने रोग कीराको उपचारमा स्थानीय वानस्पतिक विषादी बनाएर प्रयोगमा ल्याएका हुन् ।

पाठशाला सञ्चालनका लागि करिब एक रोपनी क्षेत्रफलमा गरिएको कोसेबालीमा देखिएका रोग कीराको समस्या समाधान गर्न प्याजको पात, केतुकी, पाती, असुरोलगायत तीतो, पिरो, टर्रो र अमिलो हुने प्रजातिका वनस्पति र वस्तुभाउको मूत्रबाट जैविक विषादी बनाएर प्रयोग गरिएको स्थानीय झरना थापाले बताउनुभयो ।

“पहिले खेतीबालीमा केही समस्या भए बजारबाट विषादी किनेर ल्याउने गथ्र्यौँ, अहिले सिमीमा लागेको रोग कीरामा वानस्पतिक झोलको प्रयोग गर्यौँ, समस्या पनि हल भयो, नगद खर्च पनि भएन”, उहाँले भन्नुभयो । वानस्पतिक विषादीको प्रयोगले कृषि उपजसमेत स्वस्थकर हुने गर्छ । डम्मरा माझखेत कृषक समूहका २२ जना महिला किसान सहभागी पाठशालामा खेतीबालीको बीउ लगाउनेदेखि फल उत्पादनसम्मको व्यावहारिक ज्ञान, सीप र क्षमता विकासका गतिविधि भइरहेका छन् ।

गत माघ २० गतेदेखि सञ्चालन भएको कृषक पाठशालामा सहजकर्ता सोबित शर्माले किसानहरूलाई सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गर्नुभएको छ । पाठशाला सञ्चालन भएपछि गाउँघरमा रहेका स्रोत र साधनलाई प्रयोग गरेर कृषिको उत्पादन बढाउने र रोग कीराको पहिचान गरेर उपचार गर्ने ज्ञान सीप हासिल भएको तालिममा सहभागी स्थानीय किसान पशुपति भण्डारी खत्रीले बताउनुभयो ।

हरेक साताको बिहीबार चार–चार घण्टाका दरले डम्मरा माझखेत आइपिएम कृषक पाठशाला सञ्चालन हुँदै आएको छ । वडाध्यक्ष कृष्णसिंह बानियाँले समूहका लागि पाठशाला सञ्चालन गर्न निःशुल्क रूपमा उपलब्ध गराउनुभएको करिब एक रोपनी बारीमा कोसेबालीअन्तर्गत सिमी र बोडीखेती गरिएको छ । तालिममा सिमी र बोडीखेतीसँगै आलुलगायत तरकारीखेती र अन्नबालीको बीउ लगाउनेदेखि फल उत्पादनसम्मका सिकाइ भएको स्थानीय कमला परियारले जानकारी दिनुभयो ।

कृषक पाठशालामा किसानहरूलाई व्यावहारिक सिकाइका लागि लगाइएको भट्टेसिमी, एसनाइन सिमी, हाइब्रिड सिमी, मिटरबोडी, मालेपाटन बोडीखेती गरिएको छ । सिमी र बोडी उत्पादन भएपछि किसानले घरायसी प्रयोगदेखि बिक्री गरेर नगद आम्दानी गर्न थालेका छन् । आइपिएम कृषक पाठशालाले एउटा बाली विशेषमा किसानलाई पूर्ण रूपमा तालिमप्राप्त बनाउने गर्छ ।

पाठशालामा कोसेबाली लगाउनेदेखि बिरूवाको हेरचाह, स्थानीय स्रोत र साधनको प्रयोग गरेर थाँक्रा बनाउने र फल उत्पादनका लागि बोटको काँटछाटका विषयमा व्यावहारिक तालिम प्रदान गरिएको छ । पाठशालामा सहभागी किसानले आफैँ लगाएका सिमी र बोडीको आफैँले स्याहार र गोडमेलका साथै स्थानीय वानस्पतिक विषादीको प्रयोग गरेर रोग कीराको उपचार गर्ने तरिकासमेत सिकेको पाठशालाका सहजकर्ता सोबित शर्माले बताउनुभयो । किसानको हातबाट खेतबारीमा बीउ लगाएर फल उत्पादन गरी बजारीकरणसम्मको सबै पक्षलाई पाठशालामा नियमित प्रशिक्षण र व्यावहारिक तालिममा समावेश गरिएको उहाँले जानकारी दिनुभयो ।

बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा सिमी, आलु, गोलभेँडा, काउली, अकबरे खुर्सानीलगायत तरकारीखेतीमा विभिन्न सात ठाउँमा आइपिएम कृषक पाठशाला सञ्चालन गरेको छ । विषादीरहित कृषि उपज उत्पादन, रोग कीराको नियन्त्रण र उपचारमा स्थानीयस्तरमा हुने जैविक र प्राङ्गारिक मलको प्रयोग गरी स्वस्थवर्द्धक कृषि उपजको उत्पादनमा आइपिएम पाठशाला किसानका लागि उपयुक्त थलो बनेको छ । खेतबारीमै पुगेर किसानलाई व्यावहारिक ज्ञान, सीपबारे पढाउनका लागि आइपिएम कृषक पाठशाला प्रभावकारी बनेको छ । रासस