बालमन्दिरमा बालबालिकाहरुको पोषण लेखाजोखा तथा अभिभावकलाई सचेतना

0
11
म्याग्दीको सदरमुकाम बेनीबजारस्थित कालीपुलमा सञ्चालित बालमन्दिर माध्यमिक विद्यालयमा मङ्गलवार ५ वर्ष मुनिका बालबालिकाहरुको पोषण लेखाजोखा तथा अभिभावक सचेतना कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिका ८ नम्बर वडाको आर्थिक सहयोग तथा समन्वय र मिलन म्याग्दीको आयोजनामा कार्यक्रम गरिएको हो ।
विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह–२०८२ को अवसर पारेर बालबालिकाहरुको स्वास्थ्यमा पोषणको अवस्था पत्ता लगाएर उनीहरुको अभिभावकहरुलाई सचेतना गराउने उद्देश्यले कार्यक्रम गरिएको आयोजक संस्था मिलन म्याग्दीले जनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिका ८ नम्बर वडाका वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले विद्यालय तहमा अध्ययनरत बालबालिकाहरुको पोषण अवस्था सुधार्न वडामार्फत पहल थालिएको बताउनुभयो ।
वडाध्यक्ष कर्माचार्यले बालबालिकाहरुको स्वास्थ्य राम्रो बनाउन पोषणयुक्त खाना खुवाउनुपर्ने भन्दै त्यसका लागि अभिभावकहरुले विशेष रुपमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले आजका स–साना बालबालिका भोलि गएर राष्ट्रको दक्ष जनशक्ति बन्ने भएकाले पोषणयुक्त खानेकुरा तथा गुणस्तरीय शिक्षा दिनुपर्ने बताउनुभयो ।
बालमन्दिर माविका प्रधानाध्यापक सुरेन्द्रप्रसाद केसीले बालबालिकाहरुको स्वास्थ्यसँग सम्बन्धित पोषण सम्बन्धी कार्यक्रम अत्यन्त राम्रो रहेको भन्दै विद्यालयले नियमित रुपमा अतिरिक्त क्रियाकलापहरु समेत सञ्चालन गरिरहेको बताउनुभयो ।
विद्यालयका प्रअ केसीको अध्यक्षता र मिलन म्याग्दीका सामाजिक सुपरिवेक्षक छवि पूर्जाको सञ्चालनमा सम्पन्न उद्घाटनसत्रमा मिलन संस्थाका अध्यक्ष दिलमाया बिटालुले कार्यक्रममा स्वागतसँगै उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।
बालबालिकाको पोषण लेखाजोखा तथा अभिभावक सचेतना कार्यक्रमको मिलन म्याग्दीका अध्यक्ष बिटालु र पोषण विज्ञ बालकुमारी पुनले बालबालिकाहरुको स्वास्थ्यमा पोषणको लेखाजोखा गर्नुका साथै सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका सदस्य जानकी विश्वकर्मा, वडानम्बर ८ का वडा सदस्य नरु थजाली, विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा पोषणको परिचय, प्रकार, महत्व, पोषणको कमीले स्वास्थ्यमा पार्ने असर, समाधानका उपायहरु, दिवा खाजा पोसिलो बनाउने तरिकालगायत विषयमा सहजीकरण गरिएको थियो । नेपालको जनसाङ्ख्यिक स्वास्थ्य सर्भेक्षण अनुसार पोषणको कमीबाट २५ प्रतिशत पुड्कोपना, १९ प्रतिशत कम तौल र ११ प्रतिशत बालबालिकाहरुमा ख्याउटेपन रहेको पाइएको छ ।