उद्यमी बनाउन बेनी नगरको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम

0
9

बेनी नगरपालिकाले नगरभित्रका आमा समुहमार्फत महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन विभिन्न सिपमुलक तालिम सञ्चालन गरिरहेको छ । बेनी नगरपालिका–१ रत्नेचौरमा घरायसी काममा सिमित महिलालाई उद्यमशिलतामा जोड्न बाँसका सामग्री र मुडा बनाउने तालिम सञ्चालन गरिएको हो ।

बेनी नगरपालिकाको आमा समूहसँग उपमेयर कार्यक्रम अन्तर्गत बजारमा घरायसी प्रयोग तथा सजावटका लागि बाँसबाट निर्मित सामग्रीको माग रहेकाले स्थानीयको चाहना अनुसार तालिम सञ्चालन गरिएको हो । १५ दिनसम्म सञ्चालन भएको तालिममा बागलुङका पवन थापाले प्रशिक्षण दिएका थिए ।

बेनी नगरपालिकाको आर्थिक सहयोग, रत्नेचौरको वडा कार्यालयको आयोजना, चेतनशिल आमा समूह र वडा स्तरीय महिला सञ्जालको सहआयोजनामा तालिम सञ्चालन भएको बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछानेले बताउनुभयो । सजावटका सामग्री र मुडा बनाएर आयआर्जन गर्न सकिने र गाउँघरमा खेर गएको बाँसको सदुपयोगका लागि महिलाहरुलाई सिपमुलक तालिममा सहभागि भएको यामु थापाले बताउनुभयो ।

तालिममा बाँस र चोयाबाट मुडाका साथै स्ट्रे, फुलदानी, प्रमाणपत्र राख्ने फ्रेम, चुरादानी, कलम र ब्रसदानी लगायत घरायसी प्रयोग हुने र विदेशमा समेत बिक्री गर्न सकिने विभिन्न आर्कषक साम्रागी तयार गरिएको थियो । रत्नेचौरमा पहिलो चरणमा तालिम र दोस्रो चरणमा रत्नेचौर र अर्जममा दुई वटा समुहमा च्याउ खेती सम्बन्धी तालिम सञ्चालन गरिने छ । च्याउ खेती तालिमका लागि करिब ७० जना सम्पर्कमा छन् ।

महिलालाई आयआर्जनमुलक व्यवसायमा आवद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक हिंसा न्युनीकरण गर्ने उद्देश्यले बेनी नगरपालिका–१ रत्नेचौर र वडा नं.–५ पुलाचौरमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन भएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो ।

आर्थिक वर्ष २०७९÷०८० देखि शुरु भएको चालु आर्थिक वर्षमा २० लाख बजेट बिनियोजन भएको कार्यक्रम वडा न. १ र ५ मा लागू भएको छ ।पुलाचौर आमा समूह मार्फत च्याउ खेती, धुप बनाउने र सिलाई कटाई तालिम प्रदान गरिएको छ । आमा समूहलाई परिचालन गरेर महिलालाई आर्थिक रूपमा सक्षम, आत्मनिर्भर, स्वावलम्बी र सामाजिक रूपमा सशक्तीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको छ ।