मुडुला कार्कीको तेस्रो साधारणसभा तथा कुल मन्दिरको उद्घाटन

0
10

मुडुला कार्की क्षत्री बन्धु समाज सेवा समिति म्याग्दीको शुक्रवार तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । बेनी नगरपालिका–५, गाजनेमा मौद्गल्य गोत्रीय मुडुला कार्की क्षत्री बन्धु समाजद्वारा नवनिर्मित कुल मन्दिरमा मुर्तिको प्राणप्रतिष्ठा, अनावरणसहित साधारणसभा गरिएको हो ।

साधारणसभाको अवसरमा मुडुला कार्कीहरुले कुल पुजालाई लक्षित गरी सभाहल, पाकशाला र स्टोर निर्माण गरेका छन् । कुल मन्दिर निर्माणका लागि मुडुला कार्की क्षत्री बन्धुहरुबाट चन्दा सहयोग गरी कुल २९ लाख ४५ हजार आठसय ८३ रुपयाँ सङ्कलन भएकोमा मन्दिर निर्माणसहित विभिन्न शीर्षकमा २१ लाख ६८ हजार चारसय ८६ रुपैयाँ खर्च भएको समाजका कोषाध्यक्ष गणेशबहादुर कार्कीले जानकारी दिनुभयो ।

साधारणसभाको उद्घाटनसत्रमा समाजका अध्यक्ष गुमानसिंह कार्कीले संस्थागत, सचिव यज्ञबहादुर कार्कीले प्रगति र कोषाध्यक्ष गणेशबहादुर कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त साधारणसभाको अवसर पारेर कुल मन्दिरको निर्माण व्यवसायी चन्द्रबहादुर कार्की र दक्ष कालीगढ पूर्णबहादुर सिर्पालीलाई प्रशंसापत्रसहित सम्मान गरिएको छ । ठेक्का प्रणालीमार्फत बनाइएको कुल मन्दिर तीनवटा तलाको रहेको छ । मन्दिर निर्माणमा आर्थिक सहयोग गर्ने उत्कृष्ट चन्दादाताहरुलाई पनि सम्मान गरिएको थियो ।

साधारणसभा तथा नवनिर्मित संरचनाको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले मुडुला कार्की बन्धु समाजद्वारा हालै निर्माण गरिएको कुल मन्दिरले जगन्नाथ क्षेत्रमा धार्मिक पर्यटन प्रवद्र्धन गर्नमा सहयोग पु¥याउने बताउनुभयो । उहाँले परम्परागत रुपमा गरिने कुल पूजाको विधिलाई अहिले विज्ञानसँग जोड्न आवश्यक रहेकोमा जोड दिँदै बेनी नगरपालिकाले नगर क्षेत्रभित्र रहेका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको विकासमा पहल गरिरहेको जानकारी दिनुभयो ।

बेनी नगरपालिका–५ नम्बर वडाका वडा अध्यक्ष गोविन्द बानियाँले पुलाचौर क्षेत्र आफैमा धार्मिक हिसाबले प्रसिद्ध रहेकाले कार्की बन्धुहरुको नवनिर्मित कुल पूजाको मन्दिरले धार्मिक र पर्यटकीय क्षेत्रको विकासमा पनि सहयोगी भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा मुडुला कार्की क्षत्री बन्धु समाज म्याग्दीका सल्लाहकारद्वय क्या. मिनबहादुर कार्की र भोजबहादुर कार्कीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम मुडुला कार्की क्षत्री बन्धु समाज सेवा समिति म्याग्दीका अध्यक्ष गुमानसिंह कार्कीको अध्यक्षता, उपाध्यक्ष डिलबहादुर कार्कीको स्वागत र महासचिव यज्ञबहादुर कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो । साधारणसभाबाट यसअघि प्रस्तुत तीनवटै प्रतिवेदनहरु छलफलपश्चात् पारित गरेको समाजले जनाएको छ ।