म्याग्दीमा विविध कार्यक्रमसहित विश्व रेडक्रस दिवस मनाइयो

0
10

म्याग्दीमा बिहीबार विविध कार्यक्रमहरुको आयोजना गरेर विश्व रेडक्रस दिवस–२०२५ मनाइएको छ । विश्व रेडक्रस दिवस र म्याग्दीको बेनी नगरपालिका स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम संयुक्त रुपमा आयोजना गरी दुवै दिवस मनाइएको हो । यसैगरी दिवसकै अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीद्वारा प्रकाशित वि.सं. २०८२ सालको वार्षिक भित्तेपात्रो (क्यालेण्डर) समेत सार्वजनिक गरिएको छ ।

उक्त क्यालेण्डर रेडक्रस म्याग्दीका सभापति अमर बानियाँ, बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, वरिष्ठ प्रशासकीय अधिकृत युवराज थापा, बेनी नगरपालिका ६ नम्बर वडाका वडा अध्यक्ष कृष्णबहादुर बानियाँ, ८ नम्बर वडाका वडा अध्यक्ष उत्तमकुमार कर्माचार्य, नगर कार्यपालिका सदस्य सृजना श्रेष्ठ र वडा सदस्य सोहन श्रेष्ठ (विश्वास)ले विमोचन गर्नुभएको थियो। ‘सेवा नै धर्म हो ।’ भन्ने मूल नारासहित स्थापित रेडक्रस दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा विभिन्न २० जनाले रक्तदान गरेका छन् भने २० पिन्ट रगत सङ्कलन भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीले जनाएको छ ।

विश्व रेडक्रस दिवसमा रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाको तस्विरमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा बेनी नगरपालिकाका प्रवक्ता एवं वडानम्बर ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, नगर कार्यपालिका सदस्य मनकुमारी विश्वकर्मा, रेडक्रस म्याग्दीका यशस्कर सदस्य तथा वडानम्बर ८ का वडा सदस्य यामबहादुर बानियाँ, रेडक्रस सिङ्गा उपशाखाका सभापति सुमन बानियाँ, बेगखोला उपशाखा सभापति टिका पूर्जा लगायतको उपस्थिति रहेको थियो ।

रेडक्रसले सञ्चालन गरेका विभिन्न गतिविधिहरु बाहिर ल्याउन क्यालेण्डर प्रकाशन तथा समुदायमा रेडक्रसको महत्वलाई बुझाउनको लागि विश्व रेडक्रस दिवसको अवसरमा विविध कार्यक्रमहरु आयोजना गरिएको रेडक्रस म्याग्दीका सभापति अमर बानियाँले बताउनुभयो ।

दिवसको अवसरमा जिल्लास्थित विभिन्न स्थानमा क्रियाशील रेडक्रसका उपशाखाहरुले रचनात्मक कार्यक्रमहरुको आयोजना गरेर विश्व रेडक्रस दिवस मनाएका छन् । यसवर्ष ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ देशैभर विश्व रेडक्रस दिवस मनाइएको छ ।

रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा काम गर्ने लाखौं स्वयंसेवक र कर्मचारीहरूलाई उनीहरूको मानवीय प्रयासका लागि सम्मान गर्न हरेक वर्ष ‘मे’ ८ मा विश्व रेडक्रस र रेडक्रिसेन्ट दिवस मनाउने गरिएको छ ।

नोबेल शान्ति पुरस्कारबाट सम्मानित रेडक्रसको अन्तर्राष्ट्रिय समितिका संस्थापक हेनरी ड्युनाको जन्म पनि यसै दिन पर्दछ । रेडक्रसका संस्थापक ड्युनाको जन्मजयन्तीका साथै प्राकृतिक प्रकोप, युद्ध, चिकित्सा सङ्कट एवम् अन्य विपत्तिहरूको सामना गर्दै समाजसेवामा करुणा, निःस्वार्थता र एकताबद्ध भएर अरूको सहयोगमा आफ्नो जीवन समर्पण गर्ने विश्वव्यापी रेडक्रस र रेडक्रिसेन्ट संस्थाहरूको सिद्धान्त र कामको बारेमा चेतना फैलाउनेहरूलाई सम्मान गरेर यो दिवस मनाउने प्रचलन रहेको छ ।

बढ्दो असमानता, स्वास्थ्य समस्या र द्वन्द्वको वर्तमान विश्वमा मानवतालाई जीवित राख्न तथा दया, शान्ति र आशाको सञ्चार विश्व समुदायमाझ प्रवाह गर्न यो दिवस उपयोगी हुने विश्वास रेडक्रसका स्वयंसेवीहरूले व्यक्त गर्दै आइरहेका छन् ।