ओझेलमा परेको बागलुङको सिद्धि विनायक मन्दिर

0
16

बागलुङको जैमिनी-९ मा रहेको सिद्धि विनायकको मन्दिर प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ ।प्राचिनकालदेखि नै गणेशको आकृति भएको सो शिलाको धार्मिक र ऐतिहासिक महत्व हुँदा हुँदै पनि उति चर्चामा छैन ।

सिद्धि विनायक मन्दिरमा दर्शन गर्नाले मनोकाँक्षा पूरा हुने विश्वास स्थानीयलाई छ । त्यसो त मानिसहरु नियमित रुपमा सो मन्दिरमा ज‍ाने गर्छन ।

हिजोआज त आन्तरिक पर्यटकहरु पनि जाने गरेका छन । तर जति यो मन्दिरको महिमा छ उती मानिसहरुलाई थाहा नभएकोले सोचेजति धार्मिक पर्यटक आउन नसकेको जैमिनी-९ का स्थानीय रुद्रप्रसाद शर्मा (राजु) ले जानकारी दिनुभयो ।

बागलुङ करिडोर हुँदै कुस्मिसेरादेखि करिव ७ किलोमिटरको दूरीमा रहेको यो मन्दिरको संरक्षण स्थानीय समितिमार्फत भइरहेको शर्माले बताउनुभयो ।

खासगरी, हरेक हप्ताको मंगलबार यहाँ स्थानीयहरुको राम्रै उपस्थितिमा पूजा अर्चना हुने गरेको छ।

प्राकृतिक शिलामा गणेशको आकृति भएकोले पनि यसको महत्व अझ बढी रहेको छ ।

कालुङखोलाको किनारमा रहेको यो मन्दिर दर्शन गर्न जाँदा प्राकृितिक दृश्यहरुको पनि राम्रोसँग अवलोकन गर्न सकिन्छ ।

स्थानीय पालिकाले प्रयास गरिरहेको भएपनि अझै प्रचारप्रसार गरेर आन्तरिक तथा वाह्य धार्मिक पर्यटक भित्र्याउन पहल गर्नुपर्ने स्थानीयको सुझाव छ ।

यहाँ पर्यटकको संख्या बढाउन सके स्थानीय पालिकाको समेत आम्दानी बढ्ने उनीहरुको बुझाइ छ ।।