बाग्लुङमा हलगोरु पाल्ने एक सय ७८ किसानले पाए पोषणभत्ता

0
33

बाग्लुङको काठेखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई पोषणभत्ता वितरण गरेको छ ।

गाउँपालिकाले ‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नीति तथा कार्यक्रमअन्तर्गत एक ७८ हलगोरु पाल्ने किसानलाई पाँच हजारका रुपैयाँका दरले पोषणभत्ता वितरण गरेको हो ।

परम्परागत तरिकाले खेतबारी जोत्नका लागि प्रयोग गरिने गोरुलाई संरक्षण गर्दै किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले आठ लाख ९० हजार रुपैयाँ पोषणभत्ता सोझै किसानको हातमा पुर्‍याइएको अध्यक्ष राजु थापाले बताउनुभयो ।

हलगोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि गाउँपालिकाले यसको संरक्षणका लागि कार्यक्रम अघि बढाएको हो । पालिकाले गोरु संरक्षण र मलमूत्रको उपयोगिता बढाउनका लागि पहिलो पटक यो कार्यक्रम ल्याएको अध्यक्ष थापाले बताउनुभयो । गाउँपालिकाले यस कार्यक्रमलाई निरन्तरता दिने उहाँको भनाइ छ ।

यस्तै दूध उत्पादन गर्ने किसानले प्रतिलिटर साढे दुई रुपैयाँका दरले अनुदानसमेत पाएका उहाँले जानकारी दिनुभयो ।

गाउँपालिका–७ रेशका गोरुपालक किसान डम्मरबहादुर थापाले गोरु पाल्ने किसानले पहिलोपटक सहयोग पाउँदा सम्मानको महसूस गरेको बताउनुभयो ।

पालिकाले नयाँ बाख्रा पकेट विकास कार्यक्रममार्फत अनुदान र पशुपन्छी फार्म यन्त्रिकीकरणमा सहयोग गरिरहेको छ ।