मालिका गाउँपालिका–६, दरबाङस्थित दरबाङ आधारभूत अस्पतालमा सञ्चालित शिविरको दोस्रो दिन ४८ जनाको शल्यक्रिया भएको छ । निःशुल्क आँखा शिविर तथा मोतियाविन्दु सम्बन्धी निःशुल्क शिविरमा मङ्गलवार विभिन्न ४८ जना बिरामीहरुको शल्यक्रिया गरिएको हो ।
शल्यक्रिया गरिएका ४८ जनामध्ये ३२ जना महिला र १६ जना पुरुष रहेको मालिका गाउँपालिकाले जनाएको छ । शिविरको दोस्रो दिन कुल २ सय ९९ जना सर्वसाधारण तथा बिरामीहरुले ओपिडी नामदर्ता गराई सेवा लिएका छन् ।
जसमध्ये महिला २ सयजना र पुरुष ९९ जना रहेको नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दीका सभापति अमर बानियाँले जानकारी दिनुभयो । यसअघि शिविरको पहिलो दिन कुल २ सय ८३ जनाले ओपिडी नामदर्ता गराएकोमा १ सय ७२ जना महिला र १ सय ११ जना पुरुषले सेवा लिएका थिए ।
पहिलो दिन २६ जनामा मोतियाविन्दुको शल्यक्रिया गरिएकोमा महिला २० र पुरुष ६ जनाको शल्यक्रिया भएको थियो । पश्चिम म्याग्दी भेगलाई लक्षित गरी दरबाङमा मोतियाविन्दुको शल्यक्रियासहितको आँखा शिविर सञ्चालन गर्न यसअघि जिल्लाको विभिन्न स्थानमा स्क्रिनिङ क्याम्पहरु सञ्चालन गरेर मोतियाविन्दुका बिरामीहरुको पहिचान गरिएको थियो ।
उक्त स्क्रिनिङ क्याम्पमा भेटिएका मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामीहरुलाई दरबाङमा सञ्चालित निःशुल्क शल्यक्रियाको शिविरमा आँखाको अप्रेसन गरिएको छ ।
सोमबार शल्यक्रिया गरिएका २६ जना बिरामीहरुको मङ्गलवार आँखामा लगाइएको पट्टी खोलिएको थियो भने दोस्रो दिन शल्यक्रिया भएका बिरामीहरुको आँखाको पट्टी बुधवार खोलिने उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन्।
मालिका गाउँपालिका, पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना, हिमालयन आँखा अस्पताल घारीपाटन पोखरा, नेपाल नेत्रज्योति संघ जिल्ला शाखा, म्याग्दी र आँखा उपचार केन्द्र दरबाङको प्राविधिक सहयोग रहेको छ ।
त्यस्तै नेपाल रेडक्रस सोसाइटी दरबाङ उपशाखाको व्यवस्थापन र अपर म्याग्दी हाईड्रोपावर लिमिटेड मुख्य प्रायोजक रहेको आँखा शिविरमा रेड्ली आई फाउण्डेशनले मोतियाविन्दुको निःशुल्क शल्यक्रियाको लागि आर्थिक सहयोग उपलब्ध गराएको छ ।
हिमालयन आँखा अस्पताल पोखराका नेत्ररोग विशेषज्ञ डा. हरिबिक्रम अधिकारीको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीहरुको् टिमले बिरामीको शल्यक्रिया गर्नुका साथै परामर्श सेवा दिएको छ ।
शिविरमा निःशुल्क रुपमा सर्वसाधारण तथा बिरामीहरुलाई औषधी र चस्मा समेत वितरण गरिएको छ । दरबाङमा सञ्चालित निःशुल्क आँखा शिविरबाट बिरामी र सर्वसाधारणहरु प्रत्यक्ष लाभान्वित भएका छन् ।