कृषि प्राविधिक शिक्षामा विद्यार्थीको आर्कषण बढाउन समुदायले जुटाए २ करोड २४ लाख

0
139

म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ बिममा रहेको किसानी कृषि प्राविधिक शिक्षालयमा जेहेन्दार, गरिब र विपन्न वर्गका विद्यार्थीलाई लक्षित स्थापित किसानी सञ्जीवनी अक्षयकोषमा ७ महिनाको अवधिमा २ करोड २४ लाखभन्दा बढी आर्थिक संकलन भएको छ ।

आर्थिक अभावकै कारण प्राविधिक शिक्षाबाट बन्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न सुरू गरिएको अभियानमा विदेशमा रहेका बिमबासीको पहलमा संकलित १ करोड ४८ लाख ८१ हजार ४४९ रुपैयाँ, धौलागिरी कालिका जलविद्युत, अपर म्याग्दी जलविद्युतबाट ४० लाख, गाउँमा सञ्चालित आर्थिक संकलन अभियानबाट ३२ लाख ८५ हजार ६९८ रुपैयाँ र अभियानको अन्त्यमा प्राप्त थप २ लाख ५९ हजार ९९९ रुपैयाँ गरी कुल २ करोड २४ लाख २७ हजार १४६ रुपैयाँ संकलन अक्षयकोषका विदेश विभाग प्रमुख कृष्ण जुग्जालीले बताउनुभयो ।

जलविद्युत आयोजना चरणबद्ध तरिकाले उक्त सहयोग उपलब्ध गराउने छ ।  गतबर्षको कात्तिक १२ गतेबाट सुरु भएको अभियानको बिहिबार एक समारोहका सार्वजनिक गरिएको थियो । गाउँका पूर्व प्रधानपञ्च रत्नप्रसाद पुनले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गदैं नयाँ पुस्ताले विद्यालयलाई गरेको योगदानबाट निकै उत्साहित भएको बताउनुभयो ।

प्रमुख अतिथि पुनले बि.स २०२७ सालदेखि निरन्तर विद्यालयको शैक्षिक, भौतिक अभियानमा सँगै रहेको बताउँदै कोषलाई लक्ष्य अनुसार नै प्रयोग गर्ने नयाँ पुस्ताको सक्रियता आवश्यक रहेको बताउनुभयो। प्रमुख अतिथि जुग्जालीले भन्नुभयो । ‘‘हाम्रो पुस्ताले विद्यालय बनाएर यहाँसम्म ल्याएको छ, अब नयाँ पुस्ताले यसलाई संरक्षण गदैं अगाडी बढाउनुपर्छ, बाँचुन्जेल मेरो योगदान सधै हुन्छ ।’’

कार्यक्रममा मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले विद्यार्थीलाई आयआर्जनसँग जोड्ने शिक्षालाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले पालिकाभत्र उत्पादनमा आधारित शिक्षाका लागि बजेटमार्फत सम्बोधन गरिने बताउनुभयो । कार्यक्रममा स्थानीय समाजसेवी पूर्व प्रधानपञ्च कदबहादुर जुग्जाली, गर्फे जुग्जाली, पलबिर जुग्जाली, झकप्रसाद पाईजाले किसानी सञ्जीवनी अक्षयकोषका सहयोगदाताको विवरण सहितको पुस्तकको विमोचन गर्नुभएको थियो ।

विद्यालयमा स्थापित कोषमा गाउँका अति विपन्नले रु ५० देखि अक्षयकोषका विदेश विभाग प्रमुख कृष्ण जुग्जाली र दल जुग्जालीको परिवारबाट ११ लाख १२ हजार ५५५ रुपैयाँ,अमेरिकामा बस्नुहुने बिम गाउँका बिजय जुग्जालीले ११ लाख ११ हजार १११ रुपैयाँ, हङकङमा रहनुभएका दल शेरबुजाबाट ६ लाख सहित ५७८ जनाले सहयोग गर्नुभएको किसानी कृषि प्राविधिक शिक्षालयका प्राचार्य जंगबहादुर गर्बुजाले केहीले खाद्यान्न बेचेर पनि सहयोग गनुर््भएको बताउनुभयो ।

व्यावसायिक कृषितर्फ उन्मुख क्षेत्रमा बाली विज्ञान,पशु चिकित्सा (भेटेरिनरी) विषयमा पढाइ हुने यस शिक्षालयमा बि.स २०६८ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटिए, २०७२ सालदेखि तीन वर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीन वर्षे पशुविज्ञान तहको पढाइ सुरु भएको थियो।

अक्षय कोषका सहयोगदातालाई सम्मान कार्यक्रममा मालिका गापाका प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र ढकाल, स्थानीय समाजसेवी छकप्रसाद पाईजा, अक्षयकोषका विदेश विभाग प्रमुख कृष्ण जुग्जालीले मन्तब्य राख्नुभएको थियो । अध्यक्ष कलीप्रसाद जुग्जालीको अध्यक्षता, प्राचार्य जंगबहादुर जुग्जाली, शिक्षक सुरमन गर्बुजको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैबीच सोही अवसरमा आयोजित नृत्य प्रतियोगितामा बेनीको माउण्ट एभरेष्ट आवासीय मावि प्रथम, गलेश्वर मावी तोरिपानी द्धितिय, बावियाचौरको डनिङ आवासीय मावि तृतिय भएका थिए । प्रथम, द्धितिय र तृतियले क्रमश २५ हजार, १५ हजार, ५ हजार नगद, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको कृषि प्राविधिक शिक्षालयका शिक्षक विष्णु सुबेदीले जानकारी दिनुभयो । १० टिमको सहभागिता रहेको प्रतियोगितामा ५ समुहलाई प्रति समुह २५ सय रुपैयाँ सान्त्वना पुरस्कार वितरण गरिएको थियो ।