म्याग्दी बहुमुखी क्याम्पसमा शुक्रवार कालीगण्डकी क्षेत्रमा जलवायु परिवर्तनको जोखिम र न्यूनीकरणका सम्भावित अभ्यासको विषयमा गोष्ठी सम्पन्न भएको छ । पछिल्लो समय बढ्दै गैरहेको जलवायु परिवर्तन र यसले पारेका असर तथा न्यूनीकरणका उपायबारे अन्तत्र्रिmया र छलफल गरिएको हो ।

गोष्ठीमा आफ्नो प्रस्तुतीकरण गर्दै कृषि विज्ञ डाक्टर टिकाबहादुर कार्कीले पछिल्लोपटक जलवायु परिवर्तनको असर बढ्दै गएको हुँदा यसको रोकथाम गर्नका लागि सम्बन्धित सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले कृषि बालीनालीको उत्पादन वृद्धि गर्न सम्बन्धित स्थानीय पालिकाहरुले जलवायुमैत्री कृषक पाठशाला कार्यक्रम सञ्चालन गरेर सो कार्यक्रममार्फत खाद्यान्न बालीको उत्पादनलाई बढाउनुपर्ने बताउनुभयो ।

डा. कार्कीले तरकारी खेतीमा मानव मुत्र सङ्कलन गरी त्यसमा आवश्यकता अनुसार प्रयोग गर्न सकेको खण्डमा सजिलै उत्पादन वृद्धि गर्न सकिने बताउनुभयो । कार्यक्रमका सहभागीहरुले डा. कार्कीसँग जलवायु परिवर्तनले पारेको असर, यसबाट वातावरणमा परेको प्रभाव, घट्दै गैरहेको कृषि उत्पादन, कालीगण्डकी क्षेत्रमा जलवायु परिवर्तनबाट परेको असरहरु, मानव स्वास्थ्यमा पर्न सक्ने सम्भावित जोखिमलगायत विषयहरुमा सवाल जवाफ गरेका थिए ।

सहभागीले उठाएका सवालबारे कार्कीले समाधान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले नगरपालिकामार्फत माटो बचाउनको लागि भकारो सुधार, आईपिएम कृषि पाठशालालगायत कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

उहाँले विकास निर्माणका पूर्वाधारहरुलाई जोड दिँदै गर्दा कृषि तथा जलवायुको संरक्षण, समाज विकास तथा मानव पुँजी निर्माणको सवाल ओझेलमा परेको बताउँदै अहिले दक्ष जनशक्ति समेत विदेशिन क्रम बढेकाले विदेश पलायन रोक्नुपर्ने बताउनुभयो । बेनी नगरपालिकाले पहिलो कार्यपालिकाको वैठकमा नै खाली जग्गाको उपयोग गरेर खेतीमा रुपान्तरण गर्ने छलफल गरेको भए पनि त्यसलाई कार्यान्वयनमा समस्या भैरहेको उहाँको भनाइ छ ।
कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले कार्यालयबाट सञ्चालित कार्यक्रमहरुमार्फत जलवायुमैत्री विषयलाई समेटिएको बताउँदै धवलागिरि गाउँपालिकाको धारापानी क्षेत्रमा कृषि जलवायुमैत्री कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद अधिकारीले गतवर्ष वनमा जथाभावी आगो लगाउने दुई जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाइएको भन्दै वन डढेलो रोकथाम गर्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष प्रेमबहादुर कार्कीले पछिल्लो समय विकास निर्माणका कार्यक्रमबाट माटोको कटिङ धेरै हुँदा जलवायु परिवर्तनको जोखिम झन् बढेर गएको बताउनुभयो । उहाँले जलविद्युत आयोजनामा सुरुङ खन्दा मानव वस्ती नै पहिरोको उच्च जोखिममा परेको तथा बेनी–जोमसोम–कोरला सडकमा ११ मिटरको चौडाई बनाउँदा जोखिम थप बढेको बताउनुभयो ।
म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्रीधर सुवेदीको अध्यक्षता र सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा पूर्व क्याम्पस प्रमुख एवं अनुसन्धान समिति संयोजक टिकाराम सापकोटाले स्वागतसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा क्याम्पसका संरक्षक हरिकुमार श्रेष्ठ, बेनी नगरपालिका ७ नम्बर वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, ८ नम्बर वडाध्यक्ष उत्तमकुमार कर्माचार्य, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, क्याम्पसका प्राध्यापक र विद्यार्थीले सहभागिता जनाएका थिए ।