म्याग्दीमा निर्माणाधिन जलविद्युत आयोजनामा काम गर्ने क्रममा ज्यान गुमाउनुभएका बारा जिल्ला कोल्हवी नगरपालिका–६,कुमरगढीका २७ बर्षिय चौधरीको शव बुधबार साँझ परिवारले बुझेका छन् । मृतकका आफन्त कमलबाबु चौधरीका अनुसार ,हरिओमको कम्पनी सिविएम डब्लुईले पीडितका परिवारलाई क्षतिपुर्तीस्वरुप दश लाख रुपैयाँ सहित बेनीदेखि बारासम्मको एम्बुलेन्स लगायत खर्च र तुँदी पावर कम्पनीले थप ६ लाख रुपैयाँ उपलब्ध गराउने सहमतीपछि परिवारले शव बुझेका हुन् ।
गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले पनि क्षतिपूर्ति दिलाउन समन्वय गर्नुभएको आफन्त कमलबाबु चौधरीले बताउनुभयो । उहाँका अनुसार ,सिविएम डब्लुई कम्पनीको तर्फबाट सुपरभाइजर कमल रानाले दश लाख मध्ये पचास प्रतिशत अर्थात पाँच लाख पीडित परिवारलाई बुधबार बुझाउनुभएको छ भने बाँकी पाँच लाख जेठ महिनाको १३ उपलब्ध गराउने सहमति भएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक एवम् सूचना अधिकारी सागर पौडेलले जाहेरी पछि बेनी प्रादेशिक अस्पतालमा शव पोष्टमार्टम गरी बुधबार साँझ मृतकका परिवार र आफन्तलाई बुझाइएको जानकारी दिनुभयो । मृतक हरिओमका बुबा रामबाबु ,दाजु धर्मराज चौधरी लगायत आफन्त बेनी आउनुभएको थियो ।
जिल्लाको रघुगंगा गाउँपालिका-८,कुइनेमंगले र वडा नम्बर-७,चिमखोला क्षेत्रमा निर्माणाधिन जलविद्युत आयोजना तुँदी पावर कम्पनी प्रवद्र्धक रहेको ३७.५ मेगावाट क्षमताको राहुघाट मंगले जलविद्युत् आयोजनामा कार्यरत चौधरी कार्यक्षेत्रमा मेसिन बोकेर हिड्ने क्रममा आइतबार दिउँसो साढे १ बजेको समयमा अचानक बेहोस भई ढल्नुभएको थियो ।
उपचारका क्रममा बेनी प्रादेशिक अस्पतालमा ल्याइएका चौधरीलाई चिकित्सकले आइतबार करिब साढे चार बजे मृत घोषणा गरेका थिए । मृतक चौधरीका बुबाआमा,एक दाजु ,श्रीमती र दुई छोरी हुनुहुन्छ । मृतक सिविएम डब्लुई कम्पनी मार्फत आयोजनामा जोडिनुभएको थियो । मृतक चौधरीले वल्डिङको काम गर्नुहुन्थ्यो । यसैबीच कम्पनीले ७ महिनासम्म कार्यरत मृतक चौधरीको बिमा समेत नगरेको पाइएको थियो ।
मजदुरलाई जोखिमपूर्ण काममा लगाएर बिमा समेत नगरेपछि आफन्तले कानुनी कारवाहीको माग गरेका थिए । कम्पनीको लापबाहीको कारण हरिओमको मृत्यु भएको र कम्पनीले गुनासो सुनुवाई नगरेको भन्दै उचित क्षतिपूर्ति नदिएको खण्डमा शव नबुझ्ने भन्दै परिवारले अडान लिएका थिए । तुँदी कम्पनीको ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाट जलविद्युत पनि निर्माणाधिन अवस्थामा रहेको छ ।