म्याग्दीको सदरमुकाम बेनीबजारमा सडक धुलाम्य भएपछि दमकलबाट पानी हालेर सफा गरिएको छ । बेनी नगरपालिका र बेनी खानेपानी उपभोक्ता संस्थाको सहकार्यमा धुलाम्य हुने गरेको बजार क्षेत्रलाई सफा र सुन्दर बनाउन नियमित सडक पखालिने छ । बेनी खानेपानीले आफ्नो लाइनबाट नियमित सरसफाईका लागि पानी उपलब्ध गराएपछि नगर प्रहरीमार्फत दमकलबाट बजारको मुख्य र सहायक गल्लीहरू तथा बसपार्क आसपासका क्षेत्रमा सरसफाई गरिने नगर प्रमुख सुरत केसीको बताउनुभयो ।
सडकमा धुलो जम्मा भएको र हावाहुरीले उडाएर जनस्वास्थ्यमा नकारात्मक असर परेकोले पखालेर धुलो हटाउन कार्यका लागि एक साता परीक्षणपछि हप्ताको एक वा दुई पटक सफा गरिने छ । उक्त कार्यमा सडकको पेटीमा सामान राख्नेलाई हटाउने र धेरै फोहोर भेटिएका क्षेत्रका बासिन्दालाई समेत सचेत बनाउने र निगरानी समेत राखिने नगर प्रहरी प्रमुख शकर पौडेलको भनाई छ ।
मुस्ताङको प्रवेशद्धार मानिने बेनीबजार तथा आसपासका क्षेत्रहरु नै फोहरले नकारात्मक सन्देश फैलिने भएकाले पनि सरसफाई अभियानमा सहकार्य गरेको बेनी खानेपानी उपभोक्ता समितिका अध्यक्ष रमेश गिरीले बताउनुभयो । खानेपानी वितरण गर्ने क्षेत्रमा सडक सफा गर्ने गरी कर्मचारीलाई समेत खटाइने संस्थाले जनाएको छ । बेनीबजारका टोल विकास संस्था सहित विभिन्न निकायका प्रतिनिधिहरुको सरसफाई कार्यक्रमलाई दियो बनाउन आफ्नो टोलमा सघाउन समेत अनुरोध गरिएको छ ।