यतिबेला पहाडहरू रातो भएर फक्रिएका छन्। लालीगुराँसको फेददेखि टुप्पासम्म सुकेको हिउँको फेदीसँग खेल्दै, सूर्यको मधुरो झुल्कोले नुहाउँदै, ती फूलहरू मानौँ वसन्तको गीत गाउँदैछन्। जब चिसो बतास बग्छ, बुट्यानहरू लर्खराउँछन् अनि तिनका रङ्गीन पत्रहरू नीलो आकाशमा तैरिन थाल्छन्। यो दृश्यले मनभित्र कुनै अनौठो कम्पन ल्याउँछ – जीवनको गहिराइमा एउटा सौन्दर्य, एउटा रसिक पल गुज्रिन थाल्छ।
लालीगुराँसको जंगल, त्यो वन, जहाँ प्रकृतिले आफ्ना सबै रङ छरिदिएको छ। प्रकृतिको रङमा मधुमासको सुवास, हरियो पातहरूको संगीतमय स्पन्दन। अनि तरेली पर्दै उभिएर परपरसम्म फैलिएको रातोपन – यी सबैले चेतनालाई एक किसिमको अनुपम आनन्दमा डुबाउँछन्।
प्रकृतिको यो सुन्दरतम् रूप आँखाले देख्ने चिज होइन, यो अनुभूत गर्ने कुरा हो। कुनै यायावर हिँड्दै गर्दा जब लालीगुराँसको जंगलभित्र पस्छ, ऊ आफूलाई अर्कै संसारमा पाउँछ। भुइँभरि रातो पत्रहरू छरिएका हुन्छन्, मानौँ प्रकृतिले प्रेमको गीत लेखेर छाडिदिएको छ।
लालीगुराँसको सुवाससँग घोलिएर बाँसुरीको धुन कतै गुञ्जिएको आवाज कानसम्म प्रतिध्वनित भइरहेको थियो। हावा हल्का चलिरहेको र शीतल थियो। अनि भुइँभरि ओछ्यान बिछ्याइएझैँ थियो– राताम्मे लालीगुराँसका फुलेका पत्रहरूले। म एक यायावरझैँ प्रकृतिको यो प्रेमिल उपहारभित्र पाइला सार्दै थिएँ।
जंगलभित्र पस्नेबित्तिकै संसारको स्वरूप फेरिएको महसुस भयो। वरपर उचालिएका रुखहरू, उनीहरूकै छायामा खेलिरहेका ससाना झाडीहरू। अनि गुराँसका ती आगोसरी दीप्त दिव्य फूलहरू- सबैले मलाई बाँधिरहेको थियो। हरेक हाँगाले नजिकै बोलाएझैँ लाग्थ्यो। हरेक पत्रले आत्मीय स्पर्श दिएझैँ अनुभूति भइरहेको थियो। जमीनमा उम्रिएका अधिकांश झारपात पनि मुस्कान पस्किँदै फुलिरहेका थिए। ती सबैले मेरा पाइला चुम्दै स्वागत गर्थे। ती दृश्यले मलाई औधी खुशी दिन्थ्यो।
मानौँ, प्रकृतिले मायाका असीम भावनाहरू बगाउँदै प्रेमपत्र लेखेर भुइँभरि छोडिदिएकी छ। त्यसलाई हृदयले पढेर हर्षको उत्सव मनाउने मेरो चाहना पूरा हुँदै थियो। म गुराँसको जंगलमा प्रकृतिको रङहरूमा मिसिँदै जीवनको सौन्दर्यपान गरिरहेको थिएँ।
म ती पुष्प–पत्रमाथि हिँडिरहेको थिएँ। के थाहा ती त मायालु स्पन्दनबाट छरिएका प्रेमिल झन्कार रहेछन्। त्यसरी नै त पाइला राख्नुपर्छ, जसरी कसैले प्रेमको उज्यालो फूलमाथि भरोसा राखेर यात्रा गर्छ। गुराँसको बासनाले मनभित्र कुनै पुरानो सम्झना बिउँझाइरहेको थियो- कुनै हिमाली यात्राको।
त्यही सम्झना र सपना मेरो आँखाको परेलीमा चित्रित हुन्छन्। जसमा हिमालको फेदीमा बसेका केही जोडा होटलहरू र पर पाखामा गुम्बाहरू्, जहाँ धूपको वासना छ, जहाँ चौरीगाईहरू, भेँडाच्याङ्ग्राहरू चरिरहेका छन्, जहाँ मान्छेका मनहरू स्वच्छ हावामा रमाइरहेका छन् । बुकिपाटनका फाँटहरूमा अघाउँजी बुर्कुसी मारिरहेका छन्।
लालीगुराँस फुलेका बेला सिङ्गो जंगल नै एउटा चित्रजस्तै देखिन्थ्यो। यो कुनै कुशल कलाकारको तूलिकाले कोरिएको क्यानभास थियो, जसमा रातो, हरियो र नीलो रङ मिलेर स्वर्गीय दृश्य सिर्जना गरेका थिए। जब वसन्तको हावा चल्थ्यो, ती गुराँसका पातहरू गह्रौँ भावनासहित टपटप झर्थे, मानौँ उनीहरू एकअर्कासँग बिदाइ माग्दै थिए।
गुराँस नेपाली मनको एउटा अभिन्न अंश हो। यसले हाम्रा गीतमा, हाम्रा कवितामा, हाम्रा कथामा, हाम्रा सपनामा आफैँलाई चित्रित गरिरहेको हुन्छ। कुनै गोठालो आफ्नो भेँडाबाख्राहरू चराउँदै गर्दा गुराँसको फूल टिपेर निधारमा सजाउँछ। कुनै यात्राप्रेमीले गुराँसको हाँगालाई स्याहारेर आफ्नो डायरीमा थिचेर राख्छ। कुनै चित्रकार आफ्नो क्यानभासमा गुराँसको रातो रङ पोत्छ र कुनै कविले यसको सुन्दरतामा गूढ अर्थ खोज्छ।
अन्ततः म पनि मेरा कलमबाट पोखिन थाल्छु। गुराँसको जंगल, प्रकृतिको रङ र जीवनको सौन्दर्य अक्षरहरूमा अभिव्यक्त गरेर रमाउँछु।
साँझ पर्न लागिसकेको थियो। घामको हल्का सुनौलो झल्को गुराँसका फूलमाथि परिरहेको थियो। ती झरेका पत्रहरूमाथि मेरो पाइला नरम भएर राखिन्थ्यो। बिस्तारै, म फेरि यात्रा अघि बढाउन लागेँ। गुराँसको सुगन्धले मेरा श्वासहरूलाई अझ सुगन्धित बनाइरहेको थियो।
यसरी नै त एउटा यायावर भौतिक यात्राबाट अनुभूतिको यात्रामा रूपान्तरित हुन्छ। अनि, गुराँसको यो राताम्मे जंगल दृश्य होइन– यो अनुभूत गर्ने कुरा हो। प्रेम गर्ने कुरा हो।
चराहरूको चहक, हावाको सुस्केरा, रित्तिँदै गएर पनि निथ्रुक्क भरिएको त्यो रङ– यी सबैले जीवनको सार झल्काउँदै माया, प्रेम, सद्भाव र शुभेच्छाका कामनाहरू व्यक्त गरिरहेका थिए।
वास्तवमा लालीगुराँस मात्र फूल होइन, यो जीवनको एउटा प्रतीक हो। जब झरी पर्छ, यसको फूल झरिहाल्छ, तर फेरि अर्को वसन्त आउँछ, अनि फेरि फक्रिन्छ। मानौँ यो सिकाइ हो– जीवनमा पतन आए पनि पुनःरुत्थान सम्भव छ। पहाडको त्यो ढुंगेपर्खालको भित्तामा टाँसिएर उभिएको लालीगुराँस, जसलाई कहिलेकाहीँ हुरीले हल्लाउँछ। कहिलेकाहीँ सूर्यको तापले सुकाउँछ। तथापि प्रकृतिको यो नियमित क्रम सम्झेर ऊ मुस्कुराइरहेकै हुन्छ।
जीवन पनि यही हो। कहिले हुरी, कहिले वर्षा, कहिले चर्को घाम, कहिले शीतल पवन। तर हरेक पटक उठ्ने हिम्मत राख्नेहरूको सौन्दर्य कहिल्यै मर्दैन।
त्यसैले लालीगुराँसको जंगल वनस्पतिको समष्टि होइन, यो जीवनको दर्शन पनि हो। यो प्रकृतिले बोलेको कविता हो। यो हाम्रो आफ्नै आत्माको ऐना हो– रातो, रङ्गीन, उत्साहपूर्ण र कहिल्यै नमरून् भन्ने चाहनाले भरिएको।
गुराँसको जंगल, प्रकृतिको रङ र जीवनको सौन्दर्य यही हो।