म्याग्दीका ग्रामीण क्षेत्रहरुमा कुटानी–पिसानीका लागि आधुनिक प्रविधि भित्रिएपछि परम्परागत साधन ढिकी र जाँतो लोप हुँदै जान थालेका छन् ।

युवापुस्ताको उदासिनता र प्रविधिको विकाससँगै विद्युतबाट चल्ने मिल स्थापना भएपछि गाउँघरमा परम्परागत ढिकी–जाँतोको प्रयोग घट्दै जाँदा ढिकी र जाँतो बिस्तारै लोप हुने अवस्थामा पुगेका हुन् ।

गाउँघरमा नै ढिकी जाँतो लोप हुँदै गएपछि वर्र्षौदेखि रैथाने ढिकी जाँतो प्रयोग गर्दै आएको पाको पुस्ता रैथाने सीप र प्रविधि लोप हुने भएकोले चिन्तित बनेका छन् ।

युवा पुस्ताले कुटानी र पिसानीका लागि ढिकी जाँतोको प्रयोग गर्दैनन् । छिटो र सजिलो हुने भएकोले युवापुस्ता कुटानी पिसानीका लागि मिल नै प्रयोग गर्ने र प्रविधिले परम्परागत साधनलाई विस्थापित गर्दै लगेपछि परम्परागत साधनका रुपमा रहेका ढिकी र जाँतो हराउँदै गएका मंगला गाउँपालिका वडा नं २ का हरिदत्त पौडेलले बताउनुभयो ।

“ढिकी र जाँतोमा पिसेको अन्नको स्वाद हराउँदै जाँदाँ नरमाइलो लागेको छ । आधुनिक उपकरणले धान कुट्ने, तोरी पेल्ने, गहुँ, मकै पिस्ने परम्परागत मेसिन विस्थापित हुँदै गएको हो” पौडेलले बताउनुभयो ।

“ढिकी, पानी घट्ट र जाँतोमा पिसेको अनाजबाट पकाइएका परिकार निकै स्वादिला हुन्थे,” पौडेलले भन्नुभयो “विद्युतीय उपकरणले सजिलो त भएको छ , तर स्वाद हरायो ।”

प्रविधिको विकास र मानिसको काम गर्ने बानी हराउँदै जाँदा परम्परागत प्रविधि लोप हुँदै गएको बेनी नगरपालिका २ बगरफाँटका ९० वर्षिय बेदप्रसाद उपाध्यायले बताउनुभयो । परम्परागत प्रविधि लोप हुँदै गएपछि ढिकी र जाँतोमा कुटेको चामल र पिठो मात्रै होइन गाउँघरमा ढिकी र जाँतो देखिनै छाडेको उहाँको भनाइ छ ।

“अहिलेका अधिकांश युवा वर्गलाई त ‘ढिकी जाँतो भनेको के हो रु’ भन्ने अवस्था आइसक्यो, यसका बारेमा कसैलाई बताउनुपर्यो भने पनि गाउँघरमा ढिकी जातोँनै भेटिदैनन,” उपाध्यायले भन्नुभयो ।

रघुगंगा गाउँपालिका ६ पाखापानीकी ६१ वर्षिया चन्द्रकला शेरपुंजासँग ढिकी, जाँतो कुटेर जीविका चलाएको अनुभव छ । २६ वर्षसम्म ढिकीजाँतो कुटी जीविका चलाउँदै आएकी विकको परिवारका सदस्यले पछिल्लो समयमा १ पाथी पिसाउन परे पनि विद्युतको मेसिनमा लैजाने गरेको देख्दा पुराना दिनमा ढिकी जाँतो गरेको सम्झना आउने उहाँले बताउनुभयो ।

“अहिले त उमेर र शरीरले पनि सक्दैन, पहिले पहिले बिहान ४ बजे उठेर बिहानलाई पकाउन कोदो,मकै पिसेर ढिंडो,आटो बनाउँथ्यौँ, बिहानै ढिकी–जाँतोमा काम गर्दा आनन्द आउँथ्यो पछिल्लो समयमा १–२ पाथी भए पनि मेसिनमा लैजान्छन” शेरपुंजाले पुराना दिन सम्झिदै भन्नुभयो ।

आजकल गाउँमा नदेखिने ढिकी जाँतो सहरका घर र संग्राहालयमा देख्न पाइन्छ । म्याग्दीको गलेश्वरस्थित गलेश्वर आमा समूहले ढिकी जाँतो संरक्षणका लागि अलग्गै घर बनाएर ढिकी जाँतो राखेको छ । त्यसैगरी बेनी बजारका केही घरमा पनि ढिकी र जाँतोको संरक्षण गरिएको छ ।

गाउँमा खुट्टाले धान कुट्ने ढिकी त भेटिनै छाडेको छ । नयाँ पुस्ता छिटो, छरितो र सुविधा भोगी भएकाले पनि कुटानी पिसानीका परम्परागत साधनहरु हराउँदै गएका हुन्  ।

“पहिले प्रत्येक घरमा ढिकी र जाँतो हुने गरे पनि हाल भने कतैकतै मात्र प्रयोगमा ल्याएको भेटिन्छ । यस्ता प्रविधिको आधुनिकीकरण गरी अझै कम लागत र सर्वसुलभताका आधारमा विकास गरे परम्परागत प्रविधिको संरक्षण हुन्थ्यो,” बेनीका निलकण्ठ शर्माले भन्नुभयो ।

Leave a Reply