म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको बेनी नगरपालिका-२,ज्यामरुककोटको खबरामा अवस्थित लभ्लीहिल पर्यटक आकर्षणको थलो बनेको छ। उत्तर तर्फ धौलागिरि र अन्नपूर्ण हिमाल । तलतिर हेर्दा कालीगण्डकी नदीको किनारैमा अवस्थित बेनीबजार ।
वरपरका डाँडाकाँडासहित तरेली परेका पहाडको मनोरम दृश्य नियाल्न र्दैनिक पदमार्ग र सडक सञ्जालबाट पर्यटक पुग्छन्। पछिल्लो समय म्याग्दीको पर्यटकीयस्थलमा लभ्लीहिलको नाम समेत आउँछ । दैनिक घुम्न जाने पर्यटकले यहाँबाट दृष्यावलोकनसँगै फोहरमैलाको डङ्गुर थुप्रिन थालेको छ ।
घुम्न गएकाहरुले जथाभावी गोलघर (भ्यु प्वाईन्ट), रेलिङ र बस्नका लागि आरामदायी बेन्च लगायत आसपासका क्षेत्रमा मदिराका बोतल, बिस्कुट, चाउचाउ, चकलेट, मिनरल वाटर, पेयपदार्थका बोतल फाल्ने गरेका छन् ।
लभ्लीहिलमा पछिल्लो समय प्लास्टिकजन्य फोहरमैला जताततै भेटिन थालिएपनि नियमित सरसफाई र घुम्न जाने समेत सरसफाईका लागि सचेत नहुदाँ बाहिरी जिल्लाबाट आउने पर्यटकलाई नकारात्मक सन्देश प्रवाह भएको छ ।
मदिराको बोतल फुटाएर छोड्नेहरुकै कारण बालबालिका तथा घुम्ने क्रममा चोट लाग्ने गरेको छ भने जथाभावी मिल्काउने फोहरमैलाका कारण पर्यटकीयस्थलको प्राकृतिक सुन्दरता नै बिग्रिन थालेको स्थानीयवासीको गुनासो छ ।
गोलघर नजिकै रहेको फोहर सङ्कलनका डस्बिनहरु समेत नियमित सरसफाई नहुने तथा त्यहाँ रहेको फोहोर नष्ट गर्ने व्यवस्था छैन । घुम्न आउनेलाई फोहोर जथाभावी नफाल्नका लागि जानकारी गराउँदा समेत बेवास्ता गर्ने गरिएको स्थानीय चन्द्रबहादुर कार्कीले बताउनुभयो ।
‘प्लास्टिक, बोतलजस्ता नसड्ने चिजलाई नै मनपरी फाल्ने गरिएको छ, घुम्न आउने केहीले फोहोर गर्दा समस्या भइरहेको छ, अब नियमित सरसफाईको वातावरण बनाउनुपर्छ’ स्थानीय कार्कीले भन्नुभयो । फोहोरका थुप्रो छरपष्ट देखिनुले घुम्न जानेहरुको आनीबानीलाई नै गिज्याइरहेको छ ।
पर्यटकीय आकर्षणको गन्तव्य बनेको लभ्लीहिलमा पुगेपछि संसारको सातौं अग्लो चुचुरो धौलागिरि हिमालसहित अन्नपूर्ण हिमालको समेत चुचुरो देख्न सकिन्छ । लभ्लीहिलबाट म्याग्दी सदरमुकाम बेनीबजार, गलेश्वर क्षेत्र, पौलस्त्य पुलहाश्रम, केभहिल, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायत क्षेत्रहरु देखिन्छन् ।
यस्तै म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित म्याग्दी र कालीगण्डकी नदीको बहावलगायत आकर्षक दृष्यको अवलोकन गर्न सकिन्छ ।
बेनी नगरपालिका, प्रवासी म्याग्देलीहरुको संस्था मोना आईईसी र म्याग्दी उद्योग वाणिज्य संघले क्रमशः ५०, ४० र १० प्रतिशत लागतमा ६ सय ६० मिटर लामो पदमार्ग निर्माण भएपछि अहिले पदैलमार्गबाट जानेको संख्या धेरै छ । पदमार्ग हुँदै आधा घण्टामा पुग्न सकिने लभ्लीहिलमा सवारीसाधनदेखि १० मिनेटमा पुग्न सकिन्छ भने खबरा गाउँको आसपास भएर पनि लभ्लीहिल जान सकिन्छ।