बागलुङमा पाँच करोड ५० लाख रुपैयाँ लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ। चार जना भूतपूर्व बेलायती र दुई जना सिङ्गापुरे लाहुरेसहित छ जनाले संयुक्त लगानी गरेर यो प्रशिक्षण केन्द्र सुरु गरेका छन्।

उनीहरूले बागलुङ नगरपालिका–४ स्थित डाँडाखेतमा बेलायती र सिङ्गापुरको सेनामा भर्ती हुन चाहने युवाका लागि सुविधासम्पन्न छात्रावाससहितको प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएका छन्। प्रशिक्षण केन्द्रमा सन् २०२६ को भर्तीका लागि तालिम लिन चाहने युवालाई भर्ना गर्न सुरु गरिएको प्रशिक्षण केन्द्रका सचिव जङ्गबहादुर पुनले बताए।

बागलुङ, म्याग्दी र पर्वतका युवा बेलायत र सिङ्गापुरको लाहुरेमा भर्ती हुन पोखरा, बुटवललगायतका स्थानमा पुगेर तालिम लिनुपर्ने बाध्यता रहेको भन्दै उनीहरूलाई नजिकै सेवा दिने उद्देश्यले तालिम केन्द्र सञ्चालनमा ल्याइएको पुनले बताए।

जैमिनी नगरपालिका–३ दमेकका बेलायती सेनाका भूतपूर्व लाहुरे पुनले तीन वर्षअघिबाट प्रशिक्षण केन्द्र निर्माण सुरु गरेको बताए। डाँडाखेतमा ६ रोपनी जग्गा खरिद गरी निर्माण सुरु गरिएको तालिम केन्द्रमा एक सय जना युवालाई एकसाथ राखेर तालिम दिन सकिने पुनको भनाइ छ।

‘बागलुङ, म्याग्दी र पर्वत क्षेत्रका धेरै युवा लाहुरे बन्न बढी चासो देखाउँछन्। यस क्षेत्रमा कुनै पनि प्रशिक्षण केन्द्र नहुँदा हामीले यो सञ्चालनमा ल्याएका हौँ। हालसम्म तालिम केन्द्रमा पाँच करोड ५० लाख रुपैयाँ लगानी भइसकेको छ,’ पुनले भने।

अठार वर्षदेखि २१ वर्ष उमेर समूहका युवा सिङ्गापुर र बेलायती सेनामा भर्ती हुन योग्य हुने भए पनि तालिममा १६ वर्षपछि नै प्रवेश गर्न सकिने केन्द्रका कोषाध्यक्ष पूर्णबहादुर रानाले बताए। राना सिङ्गापुर पुलिसबाट अवकासप्राप्त व्यक्ति हुन्। अहिले काठेखोला गाउँपालिका–८ लेखानी स्थायी घर भएका पूर्णबहादुर श्रेष्ठ केन्द्रमा प्रशिक्षकका रूपमा खटिएका छन्। रासस

Leave a Reply