नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनामा दुर्घटनामा परी ज्यान गुमाएका एक मजदुरका मजदुरका आफन्त र गाउँलेहरु आन्दोलित भएका छन् ।
रघुगङ्गा गाउँपालिका–४ बुक्ल स्थित राहुघाट जलविद्युत आयोजनाको अडिट नं. २ मा फागुन २९ गते ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी) को डिपी टु ए ७०८३ नम्बरको मिस्कर दुर्घटनामा ज्यान गुमाउनुभएका बेनी नगरपालिका–२ खबराका ४२ वर्षीय हेमबहादुर घिमिरेको घटनाको निस्पक्ष छानविन तथा क्षतीपुर्तीका लागि ठेकेदार कम्पनीले आनकानी गरेपछि स्थनीयले तालाबन्दी गरिएको हो ।
मिस्कर दुर्घटनामा घिमिरे सडकबाट ८० मिटर तल खसेपछि घटनास्थलमै मृत्यु भएको थियो । स्थानीयले विभिन्न चरणमा छलफल गर्दा समेत निर्माण कम्पनी र आयोजनाले बेवास्ता गरेकाले पिप्ले स्थित रघुगङ्गा हाइड्रोपावरको कार्यालयमा ताला लगाएको बेनी नगरपालिका–२ का पूर्व वडा अधयक्ष हिराबहादुर थापाले बताउनुभयो ।
‘जोखिमपूर्ण काममा लगाउने ज्यान गएपछि बेवास्ता गर्ने गरेको पाइएको छ,‘मजदुरलाई मेसिन जस्तै ब्यवहार गर्ने गरिएको छ, अब सहमतिमा नआए थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गछौं’ थापाले भन्नुभयो ।
ज्यामरुककोटका स्थानीय, आफन्त सहित जनप्रतिनिधिको टोलीले ठेकेदारको तिल्केनीचौर स्थित कार्यालयमा ताला लगाएपछि मंगलबार बिहान छलफलपछि सहमति नभए आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने स्थानीयबासीको भनाई छ । यसअगाडी समेत मजदुरको दुर्घटनामा मृत्यु हुदाँ ठेकेदार कम्पनीको कार्यशैलीबाट पीडित र सरोकारवाला निकाय आक्रोशित छन् । मृतक घिमिरेको शब बेनी अस्पतालमा राखिएको छ ।
मृतकका परिवारलाई सहमति हुने गरी ठेकेदार कम्पनी र आयोजना अगाडी नबढेसम्म शव आफन्तले बुझ्न मानेका छैनन् ।ठेकेदार कम्पनीले बिमा र कम्पनीको नियम अनुसार पाउने राहत उपलब्ध गराउने बाहेक अन्य सुविधाका लागि चासो देखाएका छेनन् । म्याग्दीमा निर्माणधिन अवस्थामा रहेका जलविद्युत आयोजनामा बर्षेनी मजदुरले दुर्घटनामा ज्यान गुमाउने गरेका छन् । राहुघाट जलविद्युत आयोजनामा पछिल्लो ३ महिनामा भारतीय सहित ४ जनाले ज्यान गुमाएका छन् ।