नेपालीमा एउटा उखान छ,..भन्दा देख्नेलाई लाज । पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका-५, हाँडेभिरमा निर्माणाधीन १० सैयाको पालिकास्तरीय अस्पतालको भवनको अहिलेको अवस्था हेर्दा काम गर्ने ठेकेदारलाई भन्दा हेर्नेलाई लाज भइरहेको छ । विसं २०७७ पुस महिनामा शिलान्यास भएको अस्पताल भवन चारबर्षदेखि अलपत्र अवस्थामा छ । यो भवन २०८० साल असार महिनासम्म निर्माण सम्पन्न गर्ने लक्ष्य थियो।
शनिबार नेपाली सेनाको गण्डकी प्रदेशस्तरीय संयुक्त बृहत बिपद् प्रतिकार्य नमुना अभ्यासको उद्घाटन गर्न पुग्नुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी क्षत्रीले अलपत्र अस्पतालको भवन देखाउँदै ठेकेदारलाई कानुनी डण्डा देखाएर अपुरो कामलाई पूर्णता दिन अनुरोध गर्नुभएको थियो ।
‘भवन सम्पन्न भएपछि हामीले सेवा सुरू गछौं,अटेरी ठेकेदारका कारण काम अगाडी बढ्न सकेको छैन’ उपाध्यक्ष क्षत्रीले भन्नुभयो । मुख्यमन्त्री पाण्डेले अलपत्र अस्पतालको भबनलाई पूर्णता दिन आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
तत्कालिन समयमा सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने निर्णय अनुसार गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले शिलान्यास गर्नुुभएको थियो। भवन निर्माणका लागि ओमबुद्ध इन्टरनेसनल कन्स्ट्रक्सन काठमाडौँसँग २०७८ साल असारमा ९ करोड ११ लाखमा ठेक्का सम्झौता गरिएको थियो। भवनको कूल१२ करोड ९७ लाखको लागत अनुमान गरिएको थियो।
३५ वटा कोठा हुने भबनमा आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमता,प्रयोगशाला, प्रशासन, औषधी कक्ष सहितको अपाङ्गतामैत्री भवन बनाउन लागिएको थियो। अस्पताल भवन नजिककै अर्मन स्वास्थ्य चौकी रहेको छ । उक्त स्वास्थ्यचौकीकै करिब ८ रोपनी जग्गा अस्पतालका लागि ब्यवस्थापन गरिएको थियो।
मङ्गला गाउँपालिकाले निर्माण कम्पनीले अटेर गरेपछि धरौटी जफत, ठेक्का तोड्ने र कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको थियो ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं १ दोबामा भवन निर्माण सम्पन्न भएपनि प्रयोगविहिन अवस्थामा रहेको छ भने धवलागिरि गाउँपालिकाको ताकममा निर्माणाधीन पाँच शैया क्षमताको अस्पताल समेत पूर्णता भएको छैन ।