स्वरसम्राट स्व. नारायण गोपालको ‘म त लालीगुराँस भएछु, वनैभरि फूलिदिन्छु–मनैभरि फूलिदिन्छु’ गीतले भनेजस्तै हिमाली जिल्ला म्याग्दीका वनपाखामा यतिबेला लालीगुराँस ढकमक्क फुलेर जंगल नै राताम्यै भएको छ ।
वनमा लालीगुराँस मात्रै फुलेको छैन,लालीगुराँसलाई हेर्दै हिमाललाई पृष्ठभूमिमा पार्दै तस्वीर खिचाउन र भिडियो बनाउन जंगलमा उक्लिएका शहरका युवायुवतीहरुको मन पनि हिजोआज जंगलमा नै भुलेको छ ।
वनैभरि फुलेका लालीगुराँसका जंगलबाट उत्तरतिर देखिने चाँदी झै टल्किने सेता हिमाललाई पृष्ठभूमिमा पारेर फोटो खिचाउने, सेल्फी लिने र टिकटक बनाउनेको भीडले यतिबेला म्याग्दीका जंगलमा पनि रौनक बढेको हो ।
पश्चिम म्याग्दीको बाबियाचौरबाट लालीगुराँसमा रमाउन साथीहरु सहित देविस्थानको रुन्ममा पुग्नुभएका शेखर सापकोटाले हिमाल र लालीगुँरासलाई पृष्ठभूमि बनाएर तस्विर लिँदा निकै रमाइलो भएको बताउनुभयो । उहाँसँगै आएका साथीहरु पनि लालीगुँरासमा रमाउँदै फोटो खिचिरहेका थिए ।
लालीगुराँस फुलेर म्याग्दीका वन जंगल यतिबेला बेहुलीको सिउँदो जस्तै रंगिएका छन् । ढकमक्कै लालीगुराँस फुल्दिएपछि लेकाली पहाडमा बैँस चढेको छ । वसन्त ऋतुसँगै गुराँस फुलेपछि लेकाली क्षेत्र अहिले नवदुलही जस्तै सिँगारिएका छन् ।
फागुनदेखि जेठ महिनासम्म वनजङ्गलमा लालीगुराँस फुल्छ । नेपालको राष्ट्रिय फूलको मान्यता पाएको लालीगुराँस फुलेसँगै पर्यटकीय गन्तव्यका क्षेत्रमा मात्रै होइन विकट जंगल र डाँडाकाँडामा पनि छुट्टै खालको रौनक छाएको छ ।
पश्चिम म्याग्दीको मालिका,मंगला र धवलागिरि गाउँपालिकाका सबै जंगलहरु अहिले लालीगुराँसले रंगिएका छन् । यसैगरी उत्तरी म्याग्दीका अन्नपूर्ण र रघुगंगा गाउँपालिकाको पर्यटकीय क्षेत्र पुनहिल, घोरेपानी, राम्चे, घार,मल्काबाङ,लगायत क्षेत्रको अधिकांश वनपाखामा गुराँस फुलेर राताम्य भएको छ । यता बेनी नगरपालिकाको पर्यटकीयस्थल बेलढुङ्गा,ज्यामरुककोट,टोड्के लगायत क्षेत्रमा पनि ढकमक्कै लालीगुराँस फुलेको स्थानीयले बताएका छन् ।
वनपाखामा लालीगुराँस फुलेर राताम्य देखिएपछि पर्यटक पुगेर रमाउन थालेका छन् । उत्तरी अन्नपूर्ण गाउँपालिका–६, घारस्थित समुन्द्री सतहदेखि २ हजार ८७४ मिटरको उचाइमा अवस्थित घोडेपानी तथा ३ हजार २१० मिटरमा रहेको पुनहिल आसपासको वनजङ्गल क्षेत्रमा विभिन्न प्रजातिका गुराँस फुलेको स्थानीय बताउँछन् । नेपालको वन जङ्गलमा ३१ प्रजातिका लालीगुराँस पाइने पहिचान भए पनि घोरेपानी क्षेत्रमा मात्रै विभिन्न आठ प्रजातिका गुराँस फुल्छन् ।
लामो पात, झ्याम्म रुख राता फूलले जंगललाई सिंगारेको छ। अहिले गुराँसको मनमोहक दृश्य हेर्न विभिन्न जिल्लाका पर्यटक पनि म्याग्दी आएका छन् । सडकखण्ड छेउछाउमा समेत लालीगुराँस अवलोकन गर्दै यात्रा गर्न सकिन्छ । सुनसान बनेका यहाँका पर्यटकीय स्थलमा चहलपहल बढेको पर्यटन व्यवसायी बताउँछन् ।
कहिल्यै पनि वनजंगलमा नपुगेका युवायुवती पनि अहिले जंगली क्षेत्रमा पुगेका छन्। सधैँ मोबाइल र इन्टरनेटमा रमाउने युवायुवतीले प्रकृतिलाई नजिकैबाट नियाल्न र बुझ्ने अवसर पनि पाएका मालिका गाउँपालिका ५ देविस्थानका टेकबहादुर सिउथानीले बताउनुभयो ।
लालीगुराँससँगै रमाउने र तस्विर खिचाउनेमा युवा पुस्तामात्रै होइन, जनप्रतिनिधिदेखि लिएर राजनीतिक दलका नेता, कर्मचारी, विद्याथी पनि छन् । विभिन्न कार्यक्रममा सहभागी हुन गाउँ गएका वेला लालीगुराँस फुलेको ठाउँमा गाडी र मोटरसाइकल रोकेर तस्विर खिचाउनमा राजनीतिक दल र जनप्रतिनिधि पनि व्यस्त देखिन्छन् ।
लालीगुराँस फुलपछि ग्रामीण क्षेत्रको सौन्दर्य समेत बढेको छ । घोरेपानी र पुनहिलसहित जिल्लाको लेकाली क्षेत्रमा फुलेको गुराँसको आकर्षणले पर्यटकहरु लालायित भएका छन् । कोरोनाको त्रासले सहरबाट गाउँ पसेकाहरु, लालिगुराँस फुलेको हेर्न डाँडाकाँडा चहार्न थालिसके । वसन्त ऋतुमा मनै लोभ्याउने गरी फुल्ने लालीगुराँससँगै टाँसिएर फोटो, भिडियो खिच्न र सेल्फी लिन पर्यटकहरु आउनेगरेका मंगला गाउँपालिका २ का शेरबहादुर विकले बताउनुभयो ।
म्याग्दी जिल्लामा अहिले कुल ३ सय १४ वटा सामुदायिक वनहरु रहेकोमा सबै वन क्षेत्रमा गुराँस प्रजातिका बोटविरुवा पाइन्छन् । पछिल्लो समय जलवायु परिवर्तनको असरले गर्दा तापक्रममा वृद्धि भएपछि समयभन्दा अगावै फुल फुल्ने विरुवाहरु चाँडै नै फुल्ने गरेको डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले बताउनुभयो । उहाँले तल्लो क्षेत्रमा पुस–माघ र माथिल्लो क्षेत्रमा फागुन महिनापछि लालीगुराँस फुल्ने गरेको जानकारी दिनुभयो ।
म्याग्दी जिल्लाको वन क्षेत्रमा झण्डै १० प्रजातिका गुराँसहरु पाइने अनुमान गरिएको छ । गण्डकी प्रदेशमा गुराँसको राजधानी र सबैभन्दा ठूलो गुराँसे जङ्गलका रुपमा म्याग्दीको अन्नपूर्ण गाउँपालिमा पर्ने पुनहिल–घोडेपानी र राम्चे क्षेत्रलाई मानिएको छ । यस क्षेत्रमा मात्रै विभिन्न ८ प्रजातिका लालीगुराँसहरु पाइने स्थानीयवासी बताउँछन् ।