म्याग्दीको बेनी नगरपालिका वडा नं ८ क्याम्पसचोकदेखि बराहपाखो सामुदायिक बन जोड्ने पक्की पदमार्ग निर्माण भएको छ । डढेलो नियन्त्रणका लागि अग्नि रेखाको समेत काम गर्ने गरी क्याम्पसचोकदेखि वडा नं ७ मा पर्ने बराहपाखो सामुदायिक बन हुदै महारानीथान जोड्ने गरी पदमार्ग निर्माणको कार्य सुरू गरिएको हो ।

बेनी नगरपालिका वडा नं ८ ले चालु आर्थिक बर्षमा साढे ८ लाखको लागतमा करिब १ सय मिटर पक्की पदमार्ग निर्माण भएको क्याम्पसचोक–हिलसाइड हुदै बराहपाखो पदमार्ग उपभोक्ता समितिका अध्यक्ष होमलाल सापकोटाले बताउनुभयो । तीनबर्षदेखि सुरू भएको पदमार्ग निर्माणमा हरेक बर्ष वडा कार्यालयको बजेटबाट निर्माणको कार्य अगाडी बढेको छ ।

‘बस्तीलाई आगलागीबाट जोगाउन अग्नीरेखाको काम पनि गर्छ, आगामी बर्ष थप संरचना बनाउँछौ’ वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले भन्नुभयो ।

क्याम्पसचोकबाट प्रकाश माविको जंगल हुदै बराहपाखोसम्म जोड्ने पदमार्ग मर्निङ तथा इभिनिङ वाक गर्न, साइकिलिङ समेत गर्न मिल्ने गरी बनाइएको वडा अध्यक्ष कर्माचार्यले बताउनुभयो । वडा नं ८ ले आफ्नो सिमासम्म पदमार्ग पुर्याएपछि वडा नं ७ ले बाँकी पदमार्गको काम पुरा गर्ने छ ।

पदमार्ग निर्माण भएपछि क्याम्पसचोक, खरेनी, हिलसाइड क्षेत्रका बासिन्दाले प्रत्यक्ष लाभान्वित हुने छ भने बेनपा–६,७ र ८ का बासिन्दालाई आवतजावतमा समेत सहज हुने छ ।

बेनपा-८ को वडाको बार्षिक बजेटबाट बजार बाहिरको बस्तीमा सडक तथा पदमार्ग जोड्ने कार्यलाई प्राथमकिता दिएको छ। पदमार्गस्थलबाट सदरमुकाम बेनीबजार, पर्वतबेनी, म्याग्दी र कालिगण्डकी नदी र वरपरका पहाडी भूगोलको दृष्य अवलोकन गर्न सकिन्छ ।

 

Leave a Reply