पशुपक्षीमा एन्टिबायोटिकको अत्यधिक प्रयोगले मानिसलाई समेत समस्या आउन थालेपछि औषधि व्यवस्था विभागले बिक्रीमा कडाइ गरेको छ ।
पशुपक्षीमा एन्टिबायोटिकको जथाभाबी प्रयोगले मासु, दूध तथा अण्डाको माध्यमबाट मानिसमा पुग्ने र मानिसमा समेत औषधिले काम नगर्ने अवस्था आएपछि सूचना निकालेर सचेत गराएको विभागले जनाएको छ ।
विज्ञहरूले एन्टिबायोटिक औषधि प्रभावकारी हुन छाड्नु चिन्ताको विषय भएको बताउँछन् । विभागले निकालेको सूचनामा ६ प्रकारका एन्टिबायोटिक प्रयोग नगर्न भनिएको छ । अत्यावश्यक अवस्थामा चिकित्सकको सिफारिशमा प्रयोग गर्नुपर्ने र त्यस्ता औषधि अस्पतालहरूमा फार्मेसीबाट मात्रै बिक्री गर्नुपर्ने विभागले जनाएको छ ।
ब्याक्टेरियाविरुद्ध प्रयोग हुने एन्टिबायोटिक औषधिहरूको नेपालमा व्यापक दुरुपयोग भइरहेको गुनासो आएपछि सूचना निकाल्नुपरेको विभागले जनाएको छ । नेपालमा कृषि क्षेत्रमा समेत उत्पादन बढाउन एन्टिबायोटिकको प्रयोग अनावश्यक रूपमा बढ्न थालेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा प्रयोग हुने भेटरीनरी औषधि र पूरक दानामध्ये झन्डै १३ प्रतिशत एन्टिबायोटिकको हुने गरेको छ । एन्टिबायोटिकको अत्यधिक प्रयोग हुने विश्वका ३० देशको सूचीमा नेपाल पनि पर्छ । पशुपक्षीलाई छिटो बढाउन वा धेरै दूध आउने बनाउनका लागि एन्टिबायोटिक प्रयोग हुने गरेको छ । Source: ujyaaloonline.com