पछिल्लो समय युवाहरुमा पदयात्राको लहर चलेको छ । क्याम्पस पढ्ने विद्यार्थी होस् वा कार्यालयमा काम गर्ने कर्मचारी, बिदा पाउँदा ठूला सहर घुम्नेभन्दा ग्रामीण बस्ती, हिमालका वेसक्याम्प र पदयात्रामा रमाउने क्रम बढेको छ । साहसिक यात्रा गर्ने चलन बनेको छ ।

त्यस्तै क्रममा पछिल्लो समय धेरैको रोजाइमा पर्न थालेको छ, म्याग्दीको टोड्के । रघुगंगा गाउँपालिका ५, मंगला गाउँपालिका १ र बेनी नगरपालिकाको समेत केही खण्ड जोडिएको यो स्थान भौगोलिक र प्राकृतिक रुपमा आर्कषक छ ।

उत्तरतर्फ धौलागिरि हिमालले ढाकेको, समुन्द्री सतहबाट २ हजार ५ सय मिटरको उचाइमा खर्क र देउराली परेको स्थान । माथिल्लो भागमा मालिका मन्दिर र घनाजंगल । जंगलमा राताम्मे लालीगुराँस फुलेको देख्दा जो–कोही पनि रमाउने गर्छन् ।
पूर्वतर्फ स्वर्गद्वारीको मन्दिर छ ।

धार्मिक अस्थाले पनि कतिपयलाई यहाँ तानेको छ । यहाँ पुगेर शान्त वातावरणमा ध्यान गर्न पनि सकिन्छ । एक घण्टाको पैदल दुरीमा झिं र कुहुँ जस्ता आर्कषक र बाक्ला बस्तीहरु घुम्न पाइने भएपछि टोड्के रोजाइमा पर्न थालेको छ । बेनीबाट बस चढेर पनि पुग्न सकिने भएपछि समूहमा जानेहरुको पनि यो स्थान रोजाइमा पर्न थालेको स्थानीय दिलकुमारी पुर्जाले बताइन् ।

यो स्थानलाई भेडीखर्कको रुपमा मात्र नराखी पर्यटक आकर्षण गर्ने स्थल बनाउने तयारी छ । त्यसका लागि चाहिने पूर्वाधार निर्माणले यतिबेला गति लिएको छ । घुम्न आउनेलाई बस्नका लािग स्थानीय भीम शेरचनसहितका व्यवसायीले रिसोर्ट खुलाएका छन् । यहाँ अर्गानिक खाना पनि खुवाइन्छ । स्थानीय रुपमा पाइने तरकारी, रोटी, ढिडो र खाना तथा लोकल कुखुरा खुवाइने भएपछि पाहुना खुसी हुन्छन् ।

उत्तरमा धौलागिरि हिमाल देखिने, पैदल यात्राबाट पनि पुग्न सकिने, सवारी चढेर पनि जान पाइने भएपछि टोड्केलाई पर्यटकीय गन्तव्य बनाउन सकिने भएपछि स्थनीयको चासो बढ्यो । २०७२ सालमा स्थानीय बाबुराम आचार्य लगायतको अगुवाईमा टोड्के क्षेत्र विकास कोष बनाएर मेला आयोजना भयो । त्यसपछि टोड्के भन्ने स्थान पर्यटकीय गन्तव्य बन्न सक्छ भन्ने विश्वास पलायो । स्थानीयले पनि चासो दिए । जिल्लाबाट आएका नेता, व्यवसायीले टोड्केको विकासमा काम गर्ने बचन दिए । संचार माध्यमहरुले यो क्षेत्रको संभावनाबारे खोजी गरे ।

त्यसपछि यहाँका स्थानीयले वृहत विकासका लागि गुरुयोजना समेत बनाएका छन् । गुरुयोजना अनुसार खेलकुद मैदान निर्माण गर्ने, पर्यटक आकर्षित गर्न पदमार्ग निर्माण, टोड्केबाट कालीबराह, मालिका मन्दिर, निलीबराह, धौलागिरि आइसफलहुँदै मुस्ताङको लेते जाने पदमार्ग निर्माणको पनि योजना छ । उक्त योजना सफल हुँदा टोड्के पुग्ने पर्यटकलाई तीन चार दिनसम्म यात्रा गराउन सकिनेछ ।

‘यो पदमार्ग निर्माण गरेर संचालन गरियो भने विदेशी र स्वदेशी पर्यटकले तीनचार दिनसम्म यात्रा गर्न सक्छन्,’ पर्यटन व्यवसायी भीम शेरचनले भने, ‘त्यसका लागि राज्यको ध्यानाकर्षण गराउन खोजेका छौं ।’ यो पदमार्ग निर्माण गरेर संचालन भएमा धौलागिरि, अन्नपूर्ण र माछापुच्छ«े हिमाल हेरेर यात्रा गर्न पाइने उनले बताए ।

टोड्केलाई पर्यटकीय क्षेत्र बनाउन अहिले यहाँ हाइ अल्टिच्युट खेल मैदान निर्माण भइरहको छ । १ करोड ९० लाख खर्च लाग्ने लक्ष्य भएपनि अहिले सहयोग जुटाएर ५३ लाख रुपैयाँमा काम सुरु भएको हो । यो मैदान बनिसक्दा हाइ अल्टिच्युटमा खेल्ने अभ्यास बढ्दा त्यहीं अनुभवले अन्तराष्ट्रिय स्तरको खेलमा भाग लिन सकिने, हिमाली पदमार्गमा यात्रा गर्न सकिने र हिमाल चढ्ने अभ्यास बन्ने शेरचनले बताए ।

टोड्केलाई पर्यटकीय क्षेत्र बनाउने काममा स्थानीय तह नै पहिलो प्रयास गरेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए । ‘हाल हामीले स्वर्गद्वारीको घेराबार लगाएका छौं, खेल मैदान निर्माणाधिन छ,’ उनले भने, ‘खानेपानीको व्यवस्थापन, सार्वजनिक शौचालय र पदमार्ग पनि बनाइसकेका छौं ।’ मुस्ताङ जोड्ने पदयात्राले यो आर्कषक गन्तव्य बन्ने उनले बताए । त्यसका लागि १३ करोड बढी बजेट चाहिएकोले खोजी भैरहेको उनले बताए ।

वडा नं. ५ का अध्यक्ष मनबहादुर शेरपुन्जाले वडाको कार्यक्रम पनि टोड्के लक्षित भएको बताए । ‘सडकलाई स्तरीय बनाएर टोड्केसम्म आउने पाहुनाले सहज यात्रा गर्न सकुन् भन्ने लक्ष्य छ,’ उनले भने, ‘त्यसका लागि सडकमा लगानी गरेका छौं, त्यो पर्याप्त भएको छैन ।’ सबैको चासो बढाउन सकेमा प्रदेश र संघिय सरकारको लगानी भित्राउन सकिने उनले बताए।

टोड्के पुग्न मंगला १ को कुहुँबाट सडकमार्ग जोडिएको छ । बाबियाचौरदेखि कुँहु पुगेर जाँदा तुलनात्मक लामो दूरी भएपनि अहिले सोही मार्ग चलनचल्तीमा छ । मंगलाको कुँहुँ र रघुगंगाको झिं गाउँ आँफैमा पर्यटकीय गाउँ हुन् । मगरबस्ती र बाक्ला घर, होमस्टे र दृश्याबलोकनका कारण ती क्षेत्रमा सदरमुकाम र अन्य सहरी क्षेत्रबाट घुम्न आउनेहरु बढेका छन् । आएका पाहुनालाई मगर संस्कृति देखाइन्छ ।

त्यतिमात्र हैन यहाँको प्रस्तावित पदमार्ग संचालन गर्न सकेमा टोड्केका मगर संस्कृति, ठाडाखानीमा छन्त्याल संस्कृति र लेतेमा थकाली संस्कृतिका क्रियाकलाप संचालन गरेर पर्यटकलाई थप मनोरन्जन दिन सकिने शेरचन बताउँछन् । ती अभियानलाई स्थानीय तहमा जोड्ने प्रयास भएको शेरपुन्जा बताउँछन् ।

शेरचनसहितका ३६ जना व्यवसायीले यहाँ साँढे ३ करोड खर्चेर सुविधा सम्पन्न रिसोर्ट बनाएका छन् । ‘टोड्के हिल रिसोर्ट’ले पर्यटन प्रवद्र्धनमा थप योगदान पुगेको छ । उनीहरुकै अगुवाइमा सिमी, बोडी, जौ, फापर, आलु र मुला, टिमुर र सिस्नोको धुलो उत्पादन गरेर बजारीकरणको तयारी छ । राजधानीका बजारमा यहाँको उत्पादनले स्थान पाउन थालेको छ । अर्गानिक फसलले बजार पाएसँगै टोड्के घुम्नका लागि पनि ती स्थानका युवाले चासो राख्न थालेको शेरचन बताउँछन् ।

Leave a Reply