म्याग्दीको धवलागिरि गाउँपालिका-३, मुना र ७ नम्बर वडा धारापानीमा  संयुक्त बजार अनुगमन भएको छ । दैनिक उपभोग्य सामानहरुको प्रयोगको अवस्था पत्ता लगाएर बिक्रेता र उपभोक्ताहरुलाई सचेत बनाउने उद्देश्यसहित बजार अनुगमन गरिएको हो ।

पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजना र जिल्ला प्रशासन कार्यालयको समन्वय तथा सहकार्यमा संयुक्त रुपमा बजार अनुगमन गरिएको जनाइएको छ । म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्य र पर्यटन तथा उद्योग कार्यालय प्रमुख अमृतप्रसाद कँडेलको विशेष उपस्थितिमा मुनाको विभिन्न स्थान र धारापानीमा सञ्चालित किराना तथा खुद्रा पसल, होटल तथा रेष्टुरेण्ट र बेकरीको अनुगमन गरिएको छ ।

अनुगमन टोलीले धारापानीमा रहेको सविना गेष्ट हाउस, अमृत ब्रदर्श किराना पसल, निशान एण्ड निश्चल किराना पसल, सक्षम किराना पसल, रुपकला विकको किराना पसल र खुसीका किराना पसलमा अनुगमन गरेको थियो । यसैगरी मुना र फलियागाउँमा सञ्चालित शेरपुञ्जा किराना पसल, पुन ब्रदर्श किराना पसल, जमुना पुन किराना पसल, पुन किराना पसल, जेभी किराना पसल, समिर होटल एण्ड किराना पसल, बिर्सना किराना पसल र राजेश किराना पसलमा अनुगमन गरिएको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ ।

धारापानी र मुनाको विभिन्न स्थानमा सञ्चालित १४ वटा किराना तथा खाद्यान्न पसल, २ वटा होटल र रेष्टुरेण्टमा अनुगमन गरी कुल २५ हजार सातसय ९० रुपैयाँ बराबरको म्याद सकिएका पेर्यपदार्थ र खाद्यवस्तुहरु जफत गरी नष्ट गरिएको पर्यटन तथा उद्योग कार्यालय प्रमुख कँडेलले बताउनुभयो । उहाँका अनुसार अनुगमनको क्रममा सबैभन्दा ठूलो परिमाणमा उपभोग गर्ने म्याद सकिएका कोकाकोला, स्प्राईट, मिरिण्डा, फेन्टालगायत पेयपदार्थहरु भेटिएका छन् । यसका साथै सुजी, भुजा, चिउरा, सस, घ्यु, बिस्कुटलगायत दैनिक उपभोग्य सामानहरु पनि म्याद नाघेको भेटिएपछि ती सबै पेयपदार्थ र खाद्यवस्तु जफत गरेर नष्ट गरिएको छ ।

म्याग्दी सदरमुकाम बेनीबजारदेखि ठूल्ठूला पसल र डिलर तथा गाउँगाउँमा सामान बिक्री गर्न लैजाने व्यापारीहरुले म्याद सकिएका सामानहरु ग्रामीण भेगमा लगेर बिक्री वितरण गर्ने गरेको पाइएको छ । अनुगमनको क्रममा पसलभित्र म्याद सकिएका सामानहरु बिक्री गर्न टाँसीमा राखेको, मूल्यसूची नटाँसेको, साइनबोर्डहरु नराखेको, एउटा नामको पसल दर्ता गरेर अर्को कारोबार गरेको, पसल दर्ता र नवीकरण नगरेको जस्ता कमी कमजोरीहरु भेटिएका थिए । त्यस्तै मुनामा सञ्चालित कोशेली बेकरी उद्योगले उत्पादन गरेको पाउरोटीलगायत बेकरीका आईटमहरुमा लेबल नटाँसिकनै खुलेआम रुपमा बिक्री गरेको पाइएको छ ।

अनुगमनमा भेटिएका कमजारीहरुलाई सुधार गर्न र कानुनी प्रक्रिया पुरा गरेर मात्रै पसल तथा व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको सहायक प्रजिअ अनिशा आचार्यले बताउनुभयो । उपभोक्ताहरुको हकहित र स्वास्थ्यलाई मध्यनजर गरी व्यवस्थित तरिकाले पसल सञ्चालन गर्ने वातावरण निर्माण गर्नका लागि बजार अनुगमन गरिएको थियो । पर्यटन तथा उद्योग कार्यालय प्रमुख कँडेलले पसल दर्ता गरेर मात्रै सञ्चालन गर्न, समय समयमा नवीकरण गर्न, म्याद सकिएका सामानहरुलाई छुट्टै व्यवस्थापन गर्न, पसलमा मूल्यसूची र साइनबोर्ड राख्नेलगायत सुझावहरु दिइएको बताउनुभयो ।

अनुगमन कार्यमा जिल्ला प्रशासन र पर्यटन तथा उद्योग कार्यालयका कर्मचारी, धवलागिरि गाउँपालिकाको प्रतिनिधि र पत्रकारको सहभागिता रहेको थियो । पालिकास्तरमा सञ्चालित पसलहरुको समय समयमा बजार अनुगमन गरी चुस्तदुरुस्त बनाउने र उपभोक्ताहरुलाई सचेत बनाउन व्यावसायिक तथा उपभोक्ता हितका लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ ।

Leave a Reply