म्याग्दीको मालिका गाउँपालिका-६,दरबाङमा ठुलो पुरस्कार राशीको दोस्रो जेपीसी कप– २०८२ पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । नयाँ वर्ष २०८२ को अवसरमा जनप्रिय मावि भुपु विद्यार्थी परिवारको आयोजनामा गाउँपालिकाको केन्द्र दरबाङमा वैशाख २ गतेदेखि ६ गतेसम्म दोस्रो जेपीसि कप–२०८२ सेभेन ए साइड फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो । प्रतियोगिताको तयारीलाई तीब्र पारिएको आयोजक क्लब अध्यक्ष कुशल घर्तीले बताउनुभयो ।
उहाँका अनुसार ,विभिन्न उपसमिति गठन गरेर आर्थिक संकलन, प्रचारप्रसार र खेलमैदान तयारीको कामलाई तीब्र पारिएको छ । खेलकुद क्षेत्रको विकास र खेल प्रतिभाको पहिचान गर्ने उद्धेश्यले सर्वाधिक पुरस्कार राशीको दोस्रो जेपीसी कपको आयोजना गरिएको क्लब अध्यक्ष घर्तीको भनाइ छ ।
प्रतियोगितामा बिजेता र उपबिजेतालाई ट्रफी , मेडल र प्रमाणपत्र सहित एक लाख ५० हजार र ८० हजार रुपैयाँ प्रदान गरिने क्लवका आर्थिक संयोजक सुजन हमालले जानकारी दिनुभयो । अनुशासित र सेमीफाइनलबाट बाहिरिने टिमलाई १०/१० हजार रुपैयाँ , उत्कृष्ट खेलाडीलाई ६ हजार रुपैयाँ , उत्कृष्ट गोलरक्षक, डिफेन्डर र सर्वाधिक गोलकर्तालाई पाँच/पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।
खुल्ला पुरुष फुटबल प्रतियोगितामा सहभागि हुने एउटा टिममा नेपाल बाहिरका तीन जना सम्म खेलाडीलाई सहभागी गराउन पाउनेछन् । दर्ता शुल्क धरौती सहित एघार हजार रुपैयाँ तोकिएको छ । सोही गाउँपालिका–७, इल्पु घर भई हाल अष्ट्रेलियामा रहनुभएका क्लबका सक्रिय सदस्य भरत थापा मगरले प्रतियोगितामा प्रथम पुरस्कारको प्रायोजन गर्नुभएको छ । भने प्रतियोगितालाई सफल बनाउन आर्थिक सहयोग प्रायोजन आउने क्रम जारी रहेको आर्थिक संयोजक हमालको भनाइ छ । साथै प्रतियोगिताले थप व्यापार व्यवसाय चलायमान गराउन सघाउ पु¥याउने अपेक्षा गरिएको छ ।