पूर्वराजा ज्ञानेन्द्र शाहले बुधवार म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर शिवालय मन्दिरमा पूजा गर्नुभएको छ । पारिवारिक र धार्मिक भ्रमणको सिलसिलामा विभिन्न शक्तीपिठको यात्राको क्रममा बुधबार गलेश्वरधाम मन्दिर भित्र पसेर पूजा गर्नुभएको थियो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधबप्रसाद रेग्मीका अनुसार मन्दिर भित्रै पसेर पुजा गर्ने प्रबन्ध गरिएको बताउनुभयो ।
सोही अवसरमा राप्रपाका केन्द्रिय सदस्य भीमप्रसाद गौचन, जगतप्रसाद गौचन सहितको टोली र सर्वसाधारणले समेत भेटघाट गरेका थिए । पूर्वराजा शाहको सुरक्षाको पनि कडा व्यवस्था थियो । गलेश्वर बजार प्रवेशद्धार मा सवारीसाधन रोकेर सर्वसाधारणलाई पैदलयात्रा र मन्दिर क्षेत्रमा स्वागत गरिएको थियो । स्वागतमा हिन्दु धर्मलम्बीहरुका साथै राप्रपा बाहेक कांग्रेस र कम्पयुनिष्टका नेता तथा कार्यकर्ता पनि पुगेका थिए ।
पूर्वराजा शाह सडकबाट पैदल यात्रा गरेर मन्दिरमा पुगेपछि पूजाआजा गरेलगत्तै होटल याकमा पुगेर थप भेटघाटको कार्यक्रम गरिएको थियो । पञ्चेबाजा, भजन समूह र अन्य झाँकीसहित उपस्थित समूहले शाहको जयजयकार गरेका थिए । नागरिक स्वागत मूल समारोह समिति नै गठन गरी पूर्व राजा शाहको स्वागतको प्रबन्ध गरिएको थियो । पूर्वराजासँगै शिव सेवा लेखेको टिसर्ट र ज्याकेट लगाएका र स्वयंसेवक समूह समेत थिए ।
पूर्वराजा शाहले सार्वजनिक अभिव्यक्ति नदिई फर्किनुभएको थियो । बुधबारै शाह बागलुङ कालीका मन्दिरमा समेत पूजाअर्जना गर्नुभएको थियो । पवित्र कालिगण्डकी नदी किनारमाथिको ९रोपनी क्षेत्रफलमा विशाल चक्रशिलामा गलेश्वर शिवालय फैलिएको छ ।