म्याग्दीको मंगला गाउँपालिका-२,लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसको ‘घर, एक दान’ अभियान मा एक ब्यक्तिले स्वर्गीय धर्मपत्नीको स्मृतिमा २ लाख बढी सहयोग गर्नुभएको छ ।
मंगला गापा-१ भर्जुला निवासी समाजसेवी एवम् क्याम्पसका वरिष्ठ सदस्य क्या. जोग बहादुर शेरपुन्जाले धर्मपत्नी स्वः बर्तमाया शेरपुन्जाको बार्षिकी कर्मकाण्ड को दान दक्षिणा गर्ने क्रममा २ लाख २५ हजार आर्थिक संयोजक यशुदा रोका, वडा नं २ का वडा अध्यक्ष एवम् सञ्चालक समिति सदस्य धनबहादुर खाती,क्याम्पस प्रमुख पितम बहादुर खत्रीलाई हस्तान्तरण गर्नुभएको हो ।
बार्षिकी कर्मकाण्डको दान दक्षिणा क्याम्पसको मुद्दती÷अक्षयकोष तथा आर्थिक सङ्कलन अभियानमा सहयोग गदैं आगामी दिनमा पनि निरन्तर सहयोगको प्रतिबद्धता जनाउनुभएको क्याम्पस प्रमुख खत्रीले बताउनुभयो । समाजसेवी शेरपुञ्जाले यसअगाडी पनि क्याम्पसलाई ५० हजार सहयोग गर्नुभएको थियो । कुल २ लाख ७५ हजार सहयोग गरी आजिवन सदस्यता सञ्चालक समितिकी उपाध्यक्ष एवम् आर्थिक संयोजक रोकाले हस्तान्तरण गर्नुभयो ।
सोही अवसरमा थाइबाङ आधारभुत विद्यालयकी पूर्व प्रधानाध्यापक देवी पूर्जा र लक्षमण पूर्जाले क्याम्पसलाई ५० हजार ५५५ सहयोग गरी बरिष्ठ सदस्य बन्नुभएको छ । भर्जुलामा रहेको हिमाली टोल समुहले क्याम्पस परिवारलाई ५ हजार ५५ सहयोग हस्तान्तरण गर्नुभएको थियो । हालसम्म क्याम्पसको अक्षय कोषमा ५६ लाख संकलन भएको छ ।
समुदायबाटै प्राप्त सहयोगबाट सञ्चालित क्याम्पसले यो अभियानमार्फत पूर्वकालिन प्राध्यापकलाई तलब सुविधा, क्यूएए प्रक्रियाका पूर्वाधारहरू तयार गर्न, गरिब तथा विपन्न वर्गका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न, क्याम्पस र समुदायको सम्बन्ध बलियो बनाउन घरदैलोमा पुगेको टोलीले क्याम्पसका हालसम्मको गतिविधिका बारेमा समेत जानकारी गराउने गरेको छ ।
क्याम्पसले १२ लाख सहयोग गर्नेलाई संरक्षक, ७ लाख सहयोग गर्नेलाई सम्मानार्थ संरक्षक, १ लाख सहयोग गर्नेलाई आजीवन सदस्य, ५० हजार सहयोग गर्नेलाई वरिष्ठ सदस्य र ५० हजारभन्दा कम सहयोग गर्नेलाई क्याम्पस सभा सदस्य प्रदान गरेको छ ।
पश्चिम म्याग्दीमा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सदरमुकाम वा जिल्लाबाहिर थप अध्ययनका लागि जानुपर्ने अवस्थाको अन्त्य गर्न क्याम्पसको पूर्वाधार अभियानमार्फत संकलित आर्थिकबाट बाबियाचौरकै लाम्पाटामा ३३ रोपनी जग्गासमेत खरिद गरी क्याम्पसको भवन, प्रशासनिक भवन, छात्रावास सहितको संरचना समेत बनेको छ।
हाल शिक्षा शास्त्र सङ्कायमा स्नातक तहमा दुई सयको हाराहारीमा विद्यार्थी अध्ययनरत छन्।सहरमा पढ्न जान खर्च नभएर छाडेका धेरै छोरी बुहारीलाई वरदान साबित भएको क्याम्पस समुदायको जगमै स्थापित भएको क्याम्पसले विश्वविद्यालयले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली(क्यूएए) प्रमाणपत्र प्राप्तिको अभियानमा समेत जुटेको छ।