म्याग्दीका गाउँ गाउँमा मोटरबाटो र विकासका अन्य पूर्वाधारहरु निर्माण गर्ने क्रममा प्राकृतिक,ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरुको नास हुँदै गएको छ । सम्पदा संरक्षणको चेत विकसित हुन नसक्दा अमूल्य सम्पदाहरु धरासायी हुँदै गएका छन् ।

सम्पदा संरक्षणको चेतना विकसित नहुँदा जिल्लाका ग्रामीण क्षेत्रमा रहेका ऐतिहासिक, पुरातात्विक, प्राकृतिक र धार्मिक महत्वका सयौं वर्ष पुराना सम्पदाहरु लोप हुँदै जान थालेका हुन् ।

नेपाल एकिकरण हुनुपूर्वको तत्कालिन पर्वत राज्य अन्तर्गतको शक्तिशाली भूगोल भित्र समेटिएको म्याग्दी जिल्लामा विकासको नाममा प्राकृतिक र ऐतिहासिक सम्पदाहरुको नास हुँदै गएको पाकापुस्ताका नागरिकहरुले बताएका छन् ।

गाउँघरबाट देवल, मुर्ति, चौतारी, पोखरी, मठ,मन्दिर, ढिकी जाँतो, घट्ट, ठेकाठेकी, घुमाउने घर, ढुङ्गे धारा,कुवा लगाएतका कैयौं रैथाने सीप र ऐतिहासिक सम्पदाहरु हराएर गएका बेनी नगरपालिका २ बगरफाँटका ९० वर्षिय बेदप्रसाद उपाध्यायले बताउनुभयो ।

उहाँले भन्नुभयो “सन्तानहरुले आफ्नै पुर्खाका पाइलाका डोबहरुलाई विर्सेका छन् ।खर र ढुंगाले छाएका घरका धुरीहरु भत्केका छन् । पिडी र आँगनमा झार बढेर झाडी बनेका छन् । वाँझै रहेका खेतबारीमा बनमारा र उन्यू झ्याङ्गिएको छ । कंक्रिट र फलामे रडका भवन ठडिएका छन् । सडक बनेर मोटर गुडेका छन् । तर,गाउँलेहरु भने खुसी भएका हुन् की दुःखी भएका हुन् छुट्टाउनै नसकिने अवस्थामा देखिन्छन्।

म्याग्दीको सदरमुकाम बेनी बजारकै कैयौं ऐतिहासिक सम्पदाहरु जीर्ण वन्दै गएको छन् । १७ औं शताब्दीका देवल,मन्दिर,पदमार्ग,टक्सार लगाएतका कैयौं सम्पदाहरु हराइसकेका स्थानीय जेष्ठ नागरिकहरुको भनाइरहेको छ ।

१७ औं शताब्दीदेखि वस्तुविनिमयको प्रमुख व्यापारिक केन्द्र रहेको म्याग्दीमा पहिलो पहिलो पटक तत्कालिन पर्वते राजा राजबमले व्यापारिक अक्कल लगाएका ऐतिहासिक तथ्य रहेको छ । मुस्ताङ, बागलुङ र रुकुमको चौबाटो पर्ने भएकाले राजा राजबमले व्यापारको अक्कल लगाए । खानीहरु सञ्चालनमा आए । ज्यामरुककोटबाट ल्याइएका कालीगडहरुले तामा र फलाम निकाल्न थाले । तामा र फलामबाट सुरु भएको बेनीको व्यापार सुन,नुन र ऊन हुँदै अहिले सूचना प्रविधि र विकास निर्माणका सामानहरुको व्यापारिक केन्द्र नै बनेको छ ।

तर अहिले यहाँको अवस्था फेरिएको छ । पैदल हिड्ने बाटोको नामोनिसान छैन । फराकिलो सडक बनेको छ । सडकमा मोटर गुडेका छन् तर पुर्खाका पाइलाको डोव मेटिएका छन् ।

विसं २०६४ मा नेपाली सेनाले ट्र्याक खोलेर विसं २०६७ मा सडक विभागलाई हस्तान्तरण गरेपछि बेनी–जोमसोम सडकमा गाडी गुड्न थाले । बेनी–जोमसोम सडकको क्षेत्रमा रहेका आधा दर्जन बढी अस्थायी बजारहरु नासिए । पदमार्ग मासिए ।तर, म्याग्दीको बेनी बजार र मुस्ताङको जोमसोम बजारको रौनक थपियो ।

पहिले पहिले ठाँटी,सत्तल र स्याउले बजार रहेका बेनी–जोमसोम सडक क्षेत्रका गलेश्वर,चमेरे,भूरुङ तातोपानी,दाना, लेते लगाएतका दर्जनबढी ठाउँहरुमा बजार विस्तार भएका छन् ।

पहिलो पटक बेनी– जोमसोम सडक बनेपछि भने सवारी साधनमा ओसारपसार र यात्रा हुन थाल्यो । नदी छेउमा मानव सभ्यता विकास भए जस्तै सडक छेउमा बस्ती बस्न थाले पछि मानिसहरुमा सम्पदा संरक्षणको चेत हराउँदै गएको संस्कृति तथा वातावरणका अध्येता रघुनाथ सापकोटाले बताउनुभयो ।

Leave a Reply