म्याग्दीको मालिका गाउँपालिका वडा नं ६ उपल्लो दुखुका ७१ वर्षिय टेकविर रोका आफ्नो घरको आँगनमै बोलेर (जीप) बाट ओर्लेर पिंडीमा रहेको खाटमा टुक्रुक्क बस्नुभयो ।
पोखरामा रहनुभएका उहाँका जेठा छोरालाई भेटेर बेनी हुँदै दरबाङसम्म गाडी (बस)मा र दरबाङदेखि बोलेरमा घर पुग्नुभएका रोका पाँच वर्ष अघिसम्म दरबाङबाट ठाडो उकालो छिचोलेर तीन घटा हिंडेपछि बल्ल आफ्ना घरमा आइपुग्नुहुन्थ्यो ।
त्यसैगरी मंगला गाउँपालिका ५ खोप्पीका ३७ वर्षिय ललित मगर मोटरसाइकलको पछाडी एक भारी घाँस राखेर घुइँकिदै घरमा आउनुभयो । सोही गाउँकी ७९ वर्षिय देविका घर्ती विदेशमा रहेका आफ्ना छोरासँग भिडियो कल गर्दै “बाबु ! पानी परेको छैन,गर्मी बढेर आलसतालस बनाएको छ,खेती पनि के गरी लगाउने होला भन्ने चिन्ता छ ” भन्दै छोरालाई गाउँको हालखबर सुनाउँदै हुनुहुन्थ्यो ।
रोका,मगर र घर्ती जस्तै म्याग्दीका ग्रामीण भेगमा बसोवास गर्ने जनताहरु गाउँगाउँमा विकास पुगेपछि निकै सुविस्ताको जीवन वाँच्न पाएका छन् । सडक, सञ्चार, शिक्षा र स्वास्थ्यको पहुँचसँगै म्याग्दीका दुर्गम ग्रामीण बस्तीको मुहार पछिल्लो समय उज्यालिदै गएको छ । सहज रूपमा आफ्नै गाउँघरमै सुविधा प्राप्त हुँदै गएपछि गाउँलेको जीवनस्तरमा समेत परिवर्तन आएको छ ।
“गाउँमा सडक आए पछि हाम्रो जिन्दगी सहज भएको छ” उपल्लो दुखुका टेकविर रोकाले भन्नुभयो “बालापन धुलोमाटो र भीर पहरासँग वित्यो,युवाअवस्था पल्टनमा परेड र लडाइँमा विताएँ,बुढेसकालमा बल्ल आफ्नै गाउँमा पुगेको विकाससँग रमाउन पाइएको छ ।” रोका भारतीय सेनाबाट सेवानिवृत भएर अहिले छोराबुहारीसँग पोखरा नवसी गाउँमा नै बस्दै आउनुभएको छ ।
विकासले केवल सुविधा मात्रै होइन, वर्षौंदेखि ओझेल परेका गाउँबस्तीलाई उजिल्याइदिएको छ भने जीवन जिउने नयाँ–नयाँ आधारसमेत पहिल्याइदिएको मालिका गाउँपालिका ६ दरबाङ बजारका व्यवसायी अमृत सापकोटाले बताउनुभयो । “घर–आँगनमै गाडी, नजिकै विद्यालय, वडा कार्यालयसँगै स्वास्थ्य चौकी, घरघरमा झलमल्ल बिजुली, आफन्तको सञ्चोबिसन्चो बुझ्न र कुराकानी गर्न हातहातमा मोबाइल, खेतबारीबाट अन्नपात र घाँस–पराल बोकेर घरगोठमा पुग्ने ट्रयाक्टर, मोटरसाइकल जिल्लाका गाउँबस्तीमा अहिले जताततै देख्न पाइन्छ ” उहाँले भन्नुभयो ।
एक दशक अघिसम्म दुर्गम मानिएका गाउँमा पछिल्लो समय विकासको लहर चलेको छ । यातायातको पहुँचसँगै विकासको परिभाषालाई बुझ्न थालेका म्याग्दीका ग्रामीण भेगका बासिन्दा सडक, शिक्षा, स्वास्थ्य र सञ्चारको सुविधा गाउँमै पाएपछि दंग छन् । म्याग्देली ग्रामीण जनताको जीवनशैलीमा नै परिवर्तन देखिएको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् ।
देश संघीयतामा जानुभन्दा अगाडी दुर्गम क्षेत्र भएकै कारण कसैको नजर नपर्ने म्याग्दीका मुना, कुइने, ठाडाखानी, रुमलगायतका गाउँमा सडक सञ्जाल जोडिएको छ । विकासको महत्वपूर्ण आधारमध्येको एक सडक भएका कारण प्राथमिकताका साथ योजना छनोट गरेर सबै वडामा सडक पु¥याइएको स्थानीय जनप्रतिनिधि सुनाउँछन् ।
जिल्लाका ६ वटा स्थनीय तहमध्ये धवलागिरि गाउँपालिका–१ गुर्जामा मात्रै सडक सञ्जालको पहुँच पुगेको छैन । गुर्जामा सडक विस्तारका लागि स्थानीय तह र प्रदेश सरकारबाट काम भइरहेको धवलागिरि गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।
स्थानीय तह गठन भइसकेपछि गाउँ–गाउँमा सडक आएकाले जिल्ला सदरमुकाम बेनीबजार पुग्न तीन दिन लाग्ने ठाउँबाट अहिले दिनमा जाउआउ गर्न सकिने भएको धवलागिरि गाउँपालिका वडा नं ३ मुनाका सम्मरबहादुर विकले बताउनुभयो ।
“सडकले गाउँको स्वरूप नै परिवर्तन गरिदिएको छ, विकासका पूर्वाधारसँगै मानिसको चेतनास्तरमा पनि सुधार आएको छ” मुनाका वडाअध्यक्ष देविन्द्र रोकाले बताउनुभयो ।
अहिले जिल्लाका ६ वटै स्थानीय तहका वडामा रहेका विद्यालयको भौतिक संरचना निर्माण तीव्र रूपमा भइरहेको छ । स्वास्थ्य चौकीमा चिकित्सक र औषधिको पहुँच छ । सञ्चारको पहुँच नपुगेको कुनै वडा नै छैन । कहिल्यै मोटर गाडी नदेखेका वृद्धवृद्धा पनि गाउँघरमा सरर्र… गाडी गुड्दा दंग छन् । हप्तौं लगाएर नुन, चामल बोकेर उपभोग गर्ने गरेको बूढापाका अहिले गाउँमै सबै सुविधा पाउँदा हर्षित बनेका स्थानीय जनप्रतिनिधिहरु बताउछन् ।
म्याग्दीमा चालु आर्थिक वर्ष २०८०/०८१ अन्त्यसम्म आइपुग्दा १६ किलोमिटर सडक कालोपत्रे भएको छ ।गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेका बहुवर्षीय र सालबसाली आयोजना मार्फत १६.२ किलोमिटर सडक कालोपत्रे÷आरसिसि र पिसिसि ढलानको काम अन्तिम चरणमा पुगेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले ६ किलोमिटर ग्राभेल, १० किलोमिटर नयाँ मार्ग खोल्ने, १५ किलोमिटर सडक विस्तार, ४ किलोमिटर नाली निर्माण, १० हजार घनमिटर टेवा पर्खाल निर्माण गर्न आयोजना सञ्चालन भएको जानकारी दिनुभयो ।उहाँका अनुसार सडक निर्माण, स्तरोन्नति, कालोपत्रे, झोलुंगे र सडक पुल सम्बन्धी नयाँ ७० वटा योजना रहेकोमा ११ वटा आयोजना बहुवर्षीयका लागि स्रोत सुनिश्चितता गर्न सिफारिस भएका छन् ।
सालबसाली २३ वटा योजनाको ठेक्का र १३ वटा उपभोक्ता समितिमार्फत कार्यान्वयन भइसकेका छन् । ७ वटा सालबसाली योजना सम्पन्न भइसकेका छन् । यसअघि ठेक्का सम्झौता भएका १३ वटा आयोजना निर्माणको अन्तिम चरणमा छन् ।