भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका-४,मुदीको चेचुङ गाउँकी ६० बर्षिया जितकुमारी घर्तीको दैनिकी अहिले फेरिएको छ । गाउँबाट उपचारका लागि स्वास्थ्य चौकी जान दिनभारी लाग्ने जितकुमारी अहिले एकघण्टामै पुग्छिन् । जितकुमारीजस्तै ४० बर्षिय कुमारी घर्तीलाई गाउँमै सडक पुगेपछि अहिले कृषि उपजको बिक्री तथा दैनिक उपभोग्य वस्तुको ढुवानीमा निकै सहज भएको छ ।

एक वर्षअघिसम्म गाउँमा उत्पादन हुने कृषि उपजका साम्रागी बिक्री गर्न छिमेकी मालिका गाउँपालिकाको केन्द्र दरबाङसम्म पुग्न दिनभरी लाग्नेमा अहिले चेचुङबासीले खेतबारीबारीमा उत्पादन हुने तरकारी गाडीबाटै ३ घण्टामै दरबाङ पुग्छ । सडक सञ्जालको कल्पना समेत नगरेका चेचुङ जस्तै मुदीको जेल्टुङ गाउँबासीको दैनिकी समेत सडक सञ्जालले गाउँ छोएपछि परिवर्तन भएको छ ।

सदरमुकाम बेनीबजार पुग्न दुई दिन लाग्नेमा अहिले ६ घण्टामा सजिलै पुगिने स्थानीय अगुवा हरिप्रसाद तिलिजाले बताए।‘सडक गाउँमा पुगेपछि बल्ल बिकासको अनुभुति गर्न पाइयो, पहिले दुईतिन दिन लाग्नेमा अहिले एकैदिनमा बजार गएर घर फर्किन सकिन्छ’ तिलिजाले बताए ।

विश्वकै सातौं अग्लो धौलागिरी हिमालको प्रवेशद्धार समेत मानिने जेल्टुङ र बगर गाउँबाट बसाईसरेकाहरू पनि अब सडक सञ्जाल गाउँमै फर्किने योजना बनाइरहेको बगरका गमबहादुर पुनको भनाई छ ।

‘सडक पुगेपछि अब रित्ता घरहरू भरिन्छन्, विकासले नै रहेछ गाउँमा चहलपहल बनाउने, फाटफुट आउने गाउँबासीहरू फर्किन थालेपछि अहिले विस्तारै चहलपहल भइरहेको छ’ पुनले भने । धौलागिरी हिमाल जाने पर्यटकको भारी बोग्ने, बजारबाट पिठ्यूँमा नुन, तेल, खाद्यान्न र लत्ताकपडाको भारी बोकेर जीवन गुजार्ने गर्ने स्थानीयको जीवनशैली सडककै कारण परिवर्तन भएको छ ।

हाइड्रो इम्पायर प्रालि प्रवद्र्धक रहेको ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाले सामाजिक उत्तरदाहित्व अन्तरगत नाउरा,चेचुङ र जेल्टुङ गाउँमा सडक पु¥याएपछि अहिले बगर, मिस्तुङ, सिमकोस लगायतका बस्ती सहित ४७ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।

सडक सुविधा भएपछि गाउँमा उत्पादन हुने कृषि उपजमा समेत स्थानीयले चासो देखाउन थालेको वडा अध्यक्ष यामबहादुर घर्तीले बताए। ‘जलविद्युत बन्न थालेपछि ब्यापार गर्ने, कृषि उत्पादन बिक्री समेत हुन थालेको छ, गाउँमै मजदुरी गर्न पाएपछि अहिले विदेशबाट फर्किएकाहरू पनि ब्यस्त छन्’वडा अध्यक्ष घर्तीले भने ।गाउँमा ढुवानी बाहेक सदरमुकामकै मूल्यमा उपभोग्य सामग्री पाइन थालेको छ ।

मुदीको नरबाङ लगायतका केही बस्तीमा अहिलेसम्म सडक पुग्न सकेको छैन। धवलागिरी गापा–४ मुदीमा म्याग्दी नदीबाट १५५ मेगावाट क्षमताको तीन जलविद्युत आयोजना निर्माणधिन अवस्थामा छन् ।

हाइड्रो भिलेज प्रवद्र्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला,उर्जा डेभलपर्स प्राली. अन्तर्गत म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको ५३ दशमलब पाँच मेगावाट र हाइड्रो इम्पायर प्रालि प्रवद्र्धक रहेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले समेत सुरुङ निर्माण सुरू गरेको छ । तीनवटै जलविद्युत आयोजनाले सडक सञ्जाल विस्तारमा सघाएपछि स्थानीयको गाउँमै मोटरमा पुग्ने रहर पूरा भएको छ ।

गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले गाउँपालिकाको बजेटबाट बषौंसम्म सडक सञ्जालको कल्पना नगरिएका बस्तीमा सडक जलविद्युत आयोजनाको कारण सडक पुगेको बताए ।‘बिकासमा जलविद्युत आयोजनाले सघाएको छ,समुदायको आयआर्जन र रोजगारीमा पनि हामीले प्राथमिकता दिएका छौ’अध्यक्ष पुनले भने ।

धौलागिरी हिमाल हुदै बग्ने म्याग्दी र गुर्जा हिमाल लगायत सहायक नदीहरुबाट गाउपालिकाभित्र ८ वटा जलविद्युत आयोजना दर्ता भएको मध्ये तीन वटा आयोजनले काम सुरू गरेपछि अहिले गाउँबस्तीमा चहलपहल भइरहेको छ । गाउँपालिकाले संघीय र प्रदेश सरकारको साझेदारीमा जिल्लाकै अति विकट मानिन धवलागिरी–१ गूर्जामा सडक सञ्जाल पु¥याउने प्रयासमा छ ।

 

Leave a Reply