बेनी नगरपालिका वडा नं ७ हुलाकचोकका ६७ बर्षिय देउप्रसाद श्रेष्ठ दैनिकजसो बराहपाखो सामुदायिक बनभित्रको फलफूल बगैंचामा भेटिन्छन् । सदरमुकाम बेनीबजारसँगै जोडिएको बनभित्र दुईबर्ष अगाडी सामुदायिक वनमा फलफूलको बगैंचा बनाउने योजनाअनुरुप रेखदेख तथा आसपासको जंगलको संरक्षणमा निःशुल्क काम गरिरहेका छन्।

समुदायको विकासका लागि फलफूलको बगैंचा बनाउने उपभोक्ता समितिको अभियान अन्तरगत करिब ३ रोपनी क्षेत्रफलमा केरा,अम्बा, आँप, ओखर,कागती भुईकटर,अलैची लगायत विभिन्न जातका फलफूल र फुल खेती गरिएको बराहपाखो सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष विष्णुप्रसाद गौतमले बताए ।

‘बनजंगलको संरक्षण र आयआजनलाई प्राथमिकता दिएका छौ, अहिले विभिन्न संघसंस्थाले पनि सहयोग गर्नुभएको छ’ अध्यक्ष गौतमले भने ।

सामुदायिक बन भित्र प्रवेश गर्ने बाँदरबाट बिरुवा जोगाउने तर, फल दिएपछि बाँदरलाई अवरोध नगर्ने उपभोक्ता समितिले जनाएको छ ।सामुदायिक बनभित्र रहेको बनभोजस्थलमा लायन्स क्लव अफ बेनी र बेनी खानेपानी तथा सरसफाई समितिले समेत फलफुल रोपेको छ । ’मैले दैनिक फलफुलको हेरचाह गर्छु, अहिले हुर्किएर राम्रो भएको छ, थप विस्तार भइरहेको छ’ देउप्रसाद श्रेष्ठले भने ।

उनले चाँडै प्रतिफल लिन सकिने र वातवारण संरक्षणमा समेत सघाउने माटो सुहाउँदो फलफूलका बिरुवालाई प्राथमिकता दिएको बताए । हिउँदको समयमा बराहपाखो सामुदायिक बनमा लाग्ने डढेलो नियन्त्रणका लागि सरसफाई, अग्नीरेखा निर्माण लगायत अन्य गतिविधिहरूको नियन्त्रणका लागि समेत उपभोक्ता समितिसँग सहकार्य गरिएको बेनी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले बताए।

उनले सामुदायिक वनबाट समेत उत्पादन लिन फलफूल र जडीबुटी खेती गर्न प्रोत्साहन गरिएको बताए । बराहपाखो सामुदायिक बनमा सल्लाको रुख भएकाले आयआर्जन हुने भन्दै खाली जमिनमा अन्य प्रजातिकारुख रोपेर उत्पादन लिन समेत सकिने भएकाले बर्षेनी विभिन्न योजनामा वडा कार्यालयले बजेट विनियोजन गर्ने गरेको छ । बेनी नगरपालिका वडा नं ७ को करिब १८ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

Leave a Reply