म्याग्दीको बेनी नगरपालिका-५, पुलाचौरका दिपेश सुबेदी ललितपुरस्थित नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी (एनसिआइटी) बाट ब्याचलर इन कम्प्युटर एप्लिकेसन (बीसीए) मा उत्कृष्ट विद्यार्थी घोषित हुनुभएको छ ।
पोखरा महानगरपालिका–३० ढुंगेपाटनस्थित पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित २०औँ दीक्षान्त समारोहमा लगातार ६ सेमिस्टरमा ४.० जीपीए सहित सम्रगमा ३.९४ जिपिए ल्याउनुभएको हो ।
दीक्षान्त समारोहमा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीबट दीक्षित हुनुुभएका सुबेदीले आफ्नो मेहनत अनुसारको नतिजा प्राप्त भएको बेनीअनलाइनलाई बताउनुभयो ।
‘सूचना प्रविधिको क्षेत्रमा थप अगाडी बढ्ने नतिजा आएको छ, अब पढाई र काम सँगसँगै लैजान्छु’ सुबेदीले भन्नुभयो । पुलाचौरको जनकल्याण माविबाट बि.स २०७२ सालको एसइईमा ३.४० जिपिए ल्याउनुभएका सुबेदीले कक्षा ११ र १२ काठमाण्डौको पेन्टागन इन्टरनेशनल कलेजबाट विज्ञान विषयमा ३.१७ जिपिए प्राप्त गर्नुभएको थियो ।
पढाइसँगै सामाजिक कार्यमा समेत सक्रिय सुबेदी लियो क्लव अफ काठमाण्डौको भाइस प्रेसिडेन्टको रुपमा कार्यरत हुनुहुन्छ । सुबेदीले भविस्यमा नेपालमै सूचना प्रविधि बजारका प्रतिनिधि गर्ने कम्पनी स्थापना गर्ने लक्ष्य रहेको र यसका लागि एनसिआइटी कलेजले वास्तवमै पथप्रदर्शकको भूमिका खेलेको बताउनुभयो ।