मेरा आदरणीय दाइ नवीन जुग्जालीज्यूले फोन गरेर भन्नुभयो, “ल भाइ, शिवरात्रि आउँदैछ, यसबारेमा लेख्नुप¥यो। तर केवल कर्मकाण्ड र पूजा–विधिको चर्चा गरेर हुँदैन। शिवरात्रि किन आध्यात्मिक जागरणको लागि महत्वपूर्ण अवसर हो भन्ने दृष्टिकोणबाट लेख्नुपर्छ।”
उहाँका यी शब्दहरूले मलाई गहिरो सोचमा डुबायो। साँच्चै शिवरात्रि केवल एक धार्मिक पर्व मात्र हो त? के यसको सार पूजापाठ, व्रत र जलाभिषेकमा मात्र सीमित छ? वा यसले कुनै गूढ आध्यात्मिक सन्देश पनि बोकेको छ? यो प्रश्नले मेरो मनमा एक नयाँ खोजको यात्रा सुरु गरायो, शिवको वास्तविक अर्थ खोज्ने, महाशिवरात्रिको गहिराइ बुझ्ने र यसको आध्यात्मिक रहस्य उजागर गर्ने।
जब मैले महाशिवरात्रिको बारेमा लेख्न शुरु गरेँ, मेरो मनमा पहिलो प्रश्न उठ्यो– मैले शिवको बारेमा के नै बुझेको छु र? शिव, जो असीम र रहस्यमय छन्, उनको सम्पूर्ण महिमा र व्यापकतालाई शब्दमा बाँध्न सकिन्छ र? यो प्रश्नले मलाई गहिरो चिन्तनमा डुबाएरै छोड्यो। मैले महसूस गरेँ कि शिवको असीम महिमालाई पूर्ण रूपमा व्यक्त गर्न नसके पनि यस महाशिवरात्रिको आध्यात्मिक पक्षहरूको बारेमा धेरथोर लेखेर भए पनि केही आभास अवश्य गराउन सकिन्छ।
शिव, जसलाई महादेव, भोलेनाथ, आदियोगी तथा अनगिन्ती नामहरूले पुकारिन्छ, उनी केवल एउटा देवता मात्र नभई सम्पूर्ण सृष्टिको आधार हुन्। उनी विनाशक हुन्, तर विनाशको पछि नयाँ सिर्जनाको सुरुवात पनि उनैबाट हुन्छ। यसरी उनी परिवर्तनका देवता हुन्। महाशिवरात्रिको रात यही परिवर्तनको प्रतीक हो। यो रातले हामीलाई सिकाउँछ कि जीवनमा परिवर्तन अपरिहार्य छ र यसलाई स्वीकार गरेर अगाडि बढ्नु नै जीवनको सार हो।
चन्द्रमासको चौधौँ रात, अर्थात् औँसीभन्दा एक दिन अगाडिको रातलाई शिवरात्रि भनिन्छ। वर्षभरि पर्ने बाह्र–तेह्र शिवरात्रिमध्ये माघ वा फाल्गुन महिनामा मनाइने शिवरात्रिले विशेष महत्त्व राख्छ, जसलाई ‘महाशिवरात्रि’ भनिन्छ। यो रात केवल धार्मिक विधिहरूका लागि मात्र होइन, आध्यात्मिक दृष्टिले पनि अत्यन्त महत्वपूर्ण मानिन्छ।
यस रात प्रकृतिको ऊर्जाहरू एक विशिष्ट प्रकारको प्रवाहमा रहन्छ, जसले मानिसलाई आध्यात्मिक उचाइतर्फ धकेल्ने भूमिका खेल्छ। यही कारणले यो रात ध्यान, जागरण र आत्मचिन्तनका लागि उत्तम अवसर हो। आध्यात्मिक मार्गमा लाग्ने साधकहरूका लागि महाशिवरात्रि गहिरो अनुभवको रात हो, किनभने यो समय शरीर र चेतनाको स्वाभाविक ऊर्जालाई माथि उठाउन अनुकूल हुन्छ।
महाशिवरात्रिको मूल सार भनेकै आत्मचेतनालाई जागृत गराउनु हो। रातभरि ढाड सीधा राखेर जागा बस्नु भनेको केवल धार्मिक परम्परा मात्र होइन, यो मेरूदण्डलाई सजग राख्दै चेतनाको उच्चतम सम्भावनामा प्रवेश गर्ने विधि हो। यस रात ध्यान गर्दा, मन्त्र जप गर्दा वा मौन बस्दा मानिसको आन्तरिक ऊर्जा सक्रिय हुन्छ, जसले आध्यात्मिक उन्नतिको द्वार खोल्छ।
सांसारिक जीवन बिताइरहेका व्यक्तिहरूका लागि पनि महाशिवरात्रिको महत्त्व कम छैन। केहीले यसलाई शिव–पार्वतीको विवाहको दिनका रूपमा लिन्छन्, जसले स्त्री–पुरुष ऊर्जाको दिव्य संयोगलाई दर्शाउँछ। यो तत्त्व केवल विवाहको परिप्रेक्ष्यमा मात्र होइन, जीवनका सबै पक्षहरूमा सन्तुलन खोज्ने मार्ग हो।
शिवलाई शून्यता अर्थात् ‘महाशून्य’ भनिन्छ, जसबाट सारा सृष्टि उत्पन्न हुन्छ। महाशिवरात्रिको रात आत्मज्ञानको रात हो, जहाँ बाहिरी संसारको मोह त्यागेर आन्तरिक सत्यतर्फ यात्रा गरिन्छ। यो पर्व साधना, मौनता र आत्मनिरीक्षणको माध्यमबाट आत्मबोधको मार्गप्रशस्त गर्ने रात हो। शिवको भजन, मन्त्रजप, ध्यान र जागरण गरिँदा हाम्रो चेतनामा गहिरो परिवर्तन आउँछ। महाशिवरात्रि एउटा अवसर हो, प्रत्येक मनुष्यभित्र हुने त्यो विशाल शून्यताको सम्पर्कमा आउन वा त्यसलाई अनुभव गर्न। त्यही विशाल शून्यता वा खालीपन जुन सम्पूर्ण सृष्टिको स्रोत हो। एकतर्फ शिवलाई संहारक वा विनाशक भनिन्छ, जबकि अर्कोतर्फ, उनलाई अत्यन्तै करुणामयी भनेर चिनिन्छ।
पुराणहरूमा उल्लेख गरिए अनुसार यही दिन शिव र शक्ति एक भएका थिए, जसले पुरुष र प्रकृतिको अद्वितीय सामञ्जस्य दर्शाउँछ। शिवलाई आध्यात्मिकता, शून्यता र आत्मज्ञानको प्रतीक मानिन्छ भने शक्ति चेतना, सृष्टि र क्रियाशीलताको प्रतीक हुन्। महाशिवरात्रि यी दुई तत्वहरूको मिलनको पावन क्षण हो, जहाँ साधकले आफ्नो भित्रकै शिवतत्त्वलाई अनुभव गर्न सक्छ।
महाशिवरात्रिको आध्यात्मिक महत्त्व यसको गहिराईमा छ। यो रात मानिसलाई आफ्नो भौतिक सीमाबाट माथि उठेर आत्मिक प्रकाशतर्फ अग्रसर हुन प्रेरित गर्छ। शिवको ध्यान र उपासना गर्दा मानिसले आफ्नो मनलाई शान्त तथा एकाग्र बनाउन सक्छ। यो नै आध्यात्मिक जागरणको सुरुवात हो। शिवको उपासना गर्दा मानिसले आफ्नो अहङ्कार, मोह र अज्ञानतालाई त्यागेर शुद्ध चित्तको स्थिति प्राप्त गर्न सक्छ। यो नै शिवरात्रिको सार हो।
शिवरात्रिमा शिवलिङ्गमा जल चढाउने, दुध र बेलपत्र अर्पण गर्ने परम्परा छ। यी सबै क्रियाहरू केवल बाह्य अनुष्ठान मात्र नभई आन्तरिक शुद्धिको प्रतीक हुन्। जल चढाउँदा मनको मैलोपन धुलिन्छ, दुधले मनको कोमलता प्रकट गर्छ भने बेलपत्रले शिवको कृपा प्राप्त गर्ने इच्छालाई जनाउँछ। यसरी हरेक क्रियाले गहिरो आध्यात्मिक अर्थ बोकेको हुन्छ। ‘ॐ नमः शिवाय’ मन्त्रको उच्चारणले आत्मशुद्धि र चेतनाको स्तर उच्च बनाउँछ। यो मन्त्र पाँच तत्त्वको प्रतीक हो– पृथ्वी, जल, अग्नि, वायु र आकाश। शिवको भजन गर्दा हृदय शुद्ध बन्छ र ध्यान गर्दा आत्मासँगको सम्बन्ध बलियो हुन्छ। महाशिवरात्रिको रात केवल जागरणको रात होइन, यो आत्मसाक्षात्कारको रात हो।
महाशिवरात्रिको रात ध्यान र साधनाका लागि सबैभन्दा उपयुक्त समय मानिन्छ। यस समयमा प्रकृतिमा सकारात्मक ऊर्जाको प्रवाह बढी हुन्छ भन्ने विश्वास छ। यसले मानिसलाई ध्यानमा गहिरो डुब्न र आफ्नो आत्मासँग जोडिन सहज बनाउँछ। शिवको ध्यान गर्दा मानिसले आफ्नो मनलाई शान्त तथा एकाग्र बनाउन सक्छ। यो नै आध्यात्मिक जागरणको सुरुवात हो।
महाशिवरात्रि केवल शिवभक्तहरूका लागि मात्र नभई सम्पूर्ण मानवजातिका लागि आध्यात्मिक उन्नतिको अवसर लिएर आउने गर्छ। यसले मानिसलाई आफ्नो अन्तर्मुखी भएर आफ्नो आत्माको पहिचान गर्न प्रेरित गर्छ। शिवजी आदियोगी हुन्, उनको उपासना गर्दा मानिसले आफ्नो जीवनलाई योग र आध्यात्मिकताको मार्गमा अगाडि बढाउन प्रेरित गर्छ। यो रातले हामीलाई यो सन्देश दिन्छ कि हामीले आफ्नो जीवनलाई सार्थक बनाउन आध्यात्मिकता र भक्तिको मार्ग अपनाउनु पर्छ।
अन्ततः महाशिवरात्रि केवल एक धार्मिक पर्व मात्र नभई आत्मिक उन्नतिको यात्रा हो। यसले मानिसलाई आफ्नो वास्तविक स्वरूपको पहिचान गर्न र परमात्मासँग एकताको अनुभूति प्राप्त गर्न मद्दत गर्छ। यो रातले हामीलाई यो सन्देश दिन्छ कि आध्यात्मिक जागरण नै जीवनको वास्तविक उद्देश्य हो। शिवजीको कृपा र आशीर्वादले हामी सबैले यस पवित्र रातमा आफ्नो मनलाई शुद्ध बनाएर आत्मिक प्रकाशतर्फ अग्रसर हौँ।
जय भोलेनाथ !