
म्याग्दीमा मंगलबार विहान पटकपटक भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ५ बजेर ५२ मिनटमा मालिका–३,डाँडागाउँमा ३.४म्याग्निच्यूडको भूकम्प र वडा नं ५ देविस्थानमा विहान ६ बजेर १३ मिनेटमा ३.४ म्याग्निच्यूडको भूकम्पपछि पनि लगातार धक्का महसुस भइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो पराकम्प नभई छुट्टै भूकम्प हो ।
भुकम्पको केन्द्रबिन्दु मालिका,धवलागिरी गाउँपालिकाको आसपासका क्षेत्रमा रहेपनि धक्का महसुस मंगला र रघुगंगा गाउँपालिका क्षेत्रमा समेत महसुस गरिएको छ । रघुगंगा गापा–६,पाखापानीस्थित अमर माविका प्रधानाध्यापक यू बहादुर गर्बुजाले लगातार धक्का महसुस भइरहेको बताउनुभयो ।
यता धवलागिरी गाउँपालिकाको ताकममा समेत धक्का महसुस भएको स्थानीय गोपाल आचार्यले बताउनुभयो । पश्चिम म्याग्दी र छिमेकी जिल्ला बागलुङमा दुईदशक यता ४ देखि ५ रेक्टरस्केलका भूकम्पको २० पटकभन्दा बढी धक्का महसुस भएको मापन केन्द्रको तथ्याङ्कले देखाएको छ । म्याग्दीको धौलागिरी हिमालको फेद हुदै एउटा भुकम्पको फल्ट रहेकाले पश्चिम म्याग्दीमा साना धक्का महसुस भइरहेको छ ।