बागलुङको बडिगाड गाउँपालिका वडा नं. ९ मा पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ५ जना घाईते भएका छन् ।
सोमबार बडिगाड गाउँपालिका वडा नं. ७ भीमगिठेदेखि वडा नं. ९ दर्लिङको खहरे जाँदै गरेको लु ३ च ५५६९ नं. को पिकअप जीप दर्लिङको सार्किपाटामा दुर्घटना हुँदा निसिखोला गाउँपालिका–७ चोलाङ बस्ने ७५ वर्षीय खड्क बहादुर कुँवर र ढोरपाटन नगरपालिका–५ नाथुरे बस्ने ३५ वर्षीया जुना कंडेलको मृन्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपि) विजय यादवले जानकारी दिए ।
दुवै जनाको बुर्तिबाङ अस्पतालमा उपचारको क्रममा निधन भएको डिएसपि यादवले बताए ।दुर्घटनामा बडिगाड गाउँपालिका–९ का ६३ वर्षीया तेज कुमारी बुढा टाउको गम्भीर घाईते भएकी छिन् । उनलाई बुर्तिबाङ अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि गण्डकी अस्पताल पोखरा रिफर गरिएको छ ।यस्तै बडीगाड गाउँपालिका–९ खहरेकी ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया यमकुमारी पौडेल, ३० वर्षीया सिता पौडेल र सवारी चालक बडिगाड गाउँपालिका–९ दर्लिङका २३ वर्षीय हिमाल घर्ती घाईते भएका छन् ।
घाईते निमसरा बुढा र यम कुमारी पौडेलको अवस्था मध्यम रहेको छभने सिता पौडेल र हिमाल घर्तीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरुको बर्तिबाङ अस्पतालमा उपचार भइरहेको डिएसपि यादवले बताए ।सवारी चालक घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जीप उकालोमा ब्रेक फेल भई सडकदेखि ५०÷६० मिटर तल खसेको प्रहरीले जनाएको छ ।