दक्षिण कोरियाको छल्लानाम्दो मोक्पोसी स्थित छुकसान बङ्गुर फार्ममा कार्यरत म्याग्दीको मालिका गाउँपालिका–१,निस्कोट स्थित जुबाङ तुल्सी पुन मगरको मृत्यु प्रकरणमा निष्पक्ष छानबिनसहित दोषीलाई कारबाही गर्ने मोना दक्षिण कोरियाले माग गरेको छ ।
शनिबार सोही फार्म नजिकै पुलमा झुण्डिएको अवस्थामा मृत भेटिका तुल्सीको कम्पनीमा नेपाली दुतावासका प्रतिनिधि मैयाँ कँडेल, एनआरएनए कोरियाका अध्यक्ष बुद्धि गुरूङ,गण्डकी प्रदेश समाजका महासचिव विदुर शर्माको टोलीको अनुगमनको क्रममा मोना कोरियाका उपाध्यक्ष गणेश बोगटी क्षेत्रीले आत्महत्या अगाडीका घटनाहरू संकास्पद भएकाले अनुसन्धानमा नेपाली संघसंस्थाले गम्भीर चासो देखाउनुपर्ने बताए ।
‘हामीले एक म्याग्देलीलाई गुमाएका छौ, त्यहाँ कार्यरत नेपालीहरुबाट लिएको सूचनाका आधारमा दुतावासले थप प्रक्रिया अगाडी बढाउने छ’उपाध्यक्ष बोगटले भने । घटनास्थलमा पुगेर नेपाली टोलीले कम्पनीका मालिक, मृतक तुल्सी कार्यरत रहेको फार्मका कर्मचारीहरुसँग समेत छलफल गरेको थियो।
कम्पनीमा कार्यरत नेपालीका अनुसार कम्पनीमा नेपालीबाट मालिकलाई सूचना दिएर कुट्न लगाउने जस्ता घटनाहरु समेत हुने गरेको थियो । मृतक तुल्सीलाई समेत पटकपटक कुटपिट गर्ने गरिएको थियो । तुल्सी गत असोजमा मात्र ईपिएस मार्फत कोरिया पुग्नुभएको थियो ।
कोरियाबाट म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाका अध्यक्ष दुर्गा भण्डारीले मृतकको शब अस्पतालमा राखिएको र थप रिर्पोट सहित अनुसन्धानका प्रक्रियाहरु सुरु भएको बताए ।
उक्त कम्पनीमा कार्यरत मृतक तुल्सी सहित साथीहरुले सामुहिक रुपमा सामाजिक सञ्जाल मार्फत आफुहरुलाई कम्पनीका साहु र फार्ममा काम लगाउने नेपाली सुजन शाहले नै शारीरिक र मानसिक रुपमा अत्याचार र दुर्वव्यवहार गरेको भन्दै उद्धार गर्न अपिल गर्नुभएको थियो । उक्त फार्ममा कार्यरत १५ जना नेपालीहरु समस्या परेका छन् ।