म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारमा आइतबार संयुक्त रुपमा बजार अनुगमन भएको छ । दैनिक उपभोग्य सामानहरुको अवस्था पत्ता लगाएर बिक्रेता र उपभोक्ताहरुलाई सचेत बनाउने उद्देश्यसहित बजार अनुगमन गरिएको हो । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजना र जिल्ला प्रशासन कार्यालयको समन्वय तथा सहकार्यमा संयुक्त रुपमा बजार अनुगमन गरिएको थियो ।

म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्य र पर्यटन तथा उद्योग कार्यालय प्रमुख अमृतप्रसाद कँडेलको विशेष उपस्थितिमा बाबियाचौरमा सञ्चालित किराना तथा खुद्रा पसल, होटल तथा रेष्टुरेण्ट र बेकरीको अनुगमन गरिएको जनाइएको छ ।

अनुगमन टोलीले बाबियाचौरमा सञ्चालित खत्री किराना पसल, हाम्रो कोसेली रेष्टुरेण्ट, आयुष भाँडा तथा खुद्रा पसल, बबी किराना पसल, रितिका रिमिसा फलफुल तथा किराना पसल, दुर्गा कटेज, गिरी किराना स्टोर्स, रोका मिक्स पसल, अनिशा होटल एण्ड रेष्टुरेण्ट, बि.एस.पि. फलफुल तथा किराना पसल, सुमन फ्रेस हाउस तथा फलफुल तरकारी पसल, अर्मन किराना एण्ड डेरी पसल, न्यू नमस्ते बेकरी एण्ड केक शप र प्रमिला किराना पसलमा अनुगमन गरिएको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ ।

मंगला–२, बाबियाचौर बजार क्षेत्रमा रहेका १० वटा किराना तथा खाद्यान्न पसल, ३ वटा होटल तथा रेष्टुरेण्ट र एकवटा बेकरीमा अनुगमन गरी कुल १९ हजार चारसय ८० रुपैयाँ बराबरको म्याद सकिएका सामानहरु जफत गरी नष्ट गरिएको पर्यटन तथा उद्योग कार्यालय प्रमुख कँडेलले बताउनुभयो ।

अनुगमनबारे थप जानकारी दिँदै उहाँले भन्नुभयो, ‘अनुगमन गरिएका विभिन्न पसलहरुमा मूल्यसूची राख्नको लागि, दर्ता नभएका पसललाई अनिवार्य दर्ता गर्न, पसल नवीकरण तथा बिलविजक जारी गर्न र साईनबोर्ड राख्नको लागि हामीले निर्देशन दिएका छौं । हामीले दिएका निर्देशन र सुझावलाई व्यवसायीहरुले सकारात्मक रुपमा लिनुभएको छ।’

अनुगमनको क्रममा पसलभित्र म्याद सकिएका सामानहरु बिक्री गर्न राखेको, मूल्यसूची नटाँसेको, साइनबोर्ड नराखेको, होटल तथा रेष्टुरेण्टको किचनमा सरसफाइ नभएको, एकथरी नामको पसल दर्ता गरी अर्कै आइटमका सामानहरु राखेको, पसल नवीकरण नगरेको, पालिकामा पसल दर्ता गरेको भए पनि प्यान नलिइएको जस्ता कमी कमजोरीहरु भेटिएका छन् ।

अनुगमनमा भेटिएका कमजारी सुधार गर्न र कानुनी प्रक्रिया पुरा नगरी सञ्चालन भएका पसलहरुलाई कानुनी प्रक्रिया पुरा गरेर मात्रै सञ्चालन गर्न निर्देशन दिइएको सहायक प्रजिअ आचार्यले बताउनुभयो ।

सहायक प्रजिअ आचार्यले आगामी दिनमा पनि जिल्लाको सबै पालिकाहरुमा सञ्चालित पसलहरुको समय समयमा बजार अनुगमन गरी चुस्तदुरुस्त बनाउने र उपभोक्ताहरुमा सचेतीकरण गरिने जानकारी दिनुभयो । यसका साथै स्थानीय तहले पनि पसलहरुको समय समयमा अनुगमन गर्नुपर्ने, व्यावसायिक तथा उपभोक्ता हितका लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको अनुगमन टोलीले ठहर गरेको छ ।

Leave a Reply