बेनी नगरपालिका–८, गणेशटोलमा अवस्थित लिटल गार्डेन एकेडमीले शुक्रबार आयोजना गरेको तेस्रो लिटल फुड फेस्टिबलमा अभिभावकले आफ्नै छोराछोरीले पकाएको परिकारको स्वाद लिए । भित्तामा परिकारको सूची, ११ वटा स्टल, थरीथरीका परिकारको स्वाद लिनेको घुइँचो थियो ।
घरमा अभिभावकलाई भान्सामा सघाउने विद्यार्थीले पकाउने र सिक्न चाहने विद्यार्थीले सहयोग र स्वादका बारेमा जानकारी दिएको दृष्य निकै लोभलाग्दो थियो । विद्यार्थीलाई व्यवहारिक सीप सिकाउन विद्यालयले विगत तीनबर्षदेखि सुरु गरेको फुड फेस्टिबलमा ३५ हजारको लगानी गरिएकोमा विभिन्न परिकार बिक्री गरी ६० हजारको कारोबार भएको विद्यालयका प्रिन्सिपल दिपक सुबेदीले बताउनुभयो ।
फेस्टिबलमा सेलरोटी, अर्गानिक खाना, मम, ससेज, चिया लगायतका परिकारहरु राखिएको थियो । कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता र क्रियाशिलतामा प्रयोगात्मक तथा सिर्जनात्मक खाना महोत्सव सम्पन्न गरिएको प्रिन्सिपल सुबेदीको भनाई छ ।
अतिरिक्त क्रियाकलापले समेत विद्यार्थीको क्षमता बढाउने उनले बताए ।फेस्टिबलमा खाना पकाउने देखि भाडा माझ्ने काम समेत विद्यार्थीले गरेका थिए । फेस्टिबलमा आफ्नै सन्तानले पकाएको खानाका परिकार खाने अवसर मिलेको अभिभावक रिना मल्लले बताउनुभयो ।
आफ्नो छोराछोरी भएको स्टलमा पुगेर अभिभावकले समेत अवलोकन गर्नुभएको थियो । विद्यालयले विद्यार्थीहरुलाई सैद्धान्तिकसँगै व्यवहारिक ज्ञान र प्रयोगात्मक अभ्यास गराउने उद्देश्यले दिएको समय र प्राथमिकताको नतिजा परीक्षाको नतिजामा समेत देखिने गरेको छ । खाना जस्तो अत्यावश्यक र महत्वपूर्ण विषयमा विद्यालयले विद्यार्थीलाई सिकाएकोमा अभिभावकले समेत धन्यवाद दिएका थिए ।