म्याग्दीको बेनी नगरपालिका-९ तोरीपानीमा रहेको गलेश्वर माविले विविध कार्यक्रमको आयोजना गर्दै आफ्नो ४४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । वार्षिकोत्सवको शुक्रबार बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गदैं नगरपालिकाको शैक्षिक योजनाको कार्यान्वयनसँगै शिक्षक प्रविधि मैत्री हुन्ुपर्नेमा जोड दिनुभयो ।
मेयर केसीले शिक्षामा व्यवहारिकता आवश्यक रहेको बताउनुभयो । विद्यार्थीको अन्तरनिहित क्षमतालाई प्रस्फुटित गर्न पनि सिर्जनात्मक र रचनात्मक कार्यक्रम आवश्यकतालाई नगरपालिकाले समेत प्राथमिकता दिएको मेयर केसीको भनाई थियो ।
सोही अवसरमा वडा अध्यक्ष एवम् सामाजिक विकास समितिका अध्यक्ष चक्र केसीले विद्यार्थीलाई रचनात्मक प्रयोगितात्मक कार्यक्रममा सहभागि गराउने, शिक्षक, अभिभावक र विद्यार्थीको सहभागितामा खेलकुद तथा साहित्यिक र संगीतका कार्यक्रमसहित वार्षिकोत्सव मनाउनुपर्ने बताउनुभयो । वार्षिकोत्सवको अवसरमा वडा नं १० का वडा अध्यक्ष मसबिर रोका लगायत स्थानीय संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
बिब्यस अध्यक्ष जमुना श्रेष्ठको अध्यक्षता, स्वागत विब्यस सदस्य प्रेमबहादुर खत्री र सञ्चालन सप्रअ तेज बहादुर राईले गर्नुभएको कार्यक्रममा शैक्षिक तथा प्रगति प्रतिवेदन प्रअ गणेशबहादुर बानियाँ, आर्थिक प्रतिवेदन लेखापाल सितल पौडेलले प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा चन्दादाता, शिक्षक, अभिभावक तथा उत्कृष्ट विद्यार्थी साधारण तथा प्राविधिक धार तर्फकालाई सम्मान गरिएको थियो ।