डिभिजन वन कार्यालय म्याग्दीले वन डढेलो सचेतना सम्वन्धि सप्ताह समापन गरेको छ । बिहिवार कार्यालयको सभाहलमा विद्यार्थीहरु संग सचेतनामुलक कार्यक्रम गर्दै सप्ताह समापन गरेको हो । बेनीको प्रकाश माविमा विज्ञान विषय कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई सहभागी गराई वन डढेलो लाग्नुको कारण, यसवाट पर्ने असर र नियन्त्रणका उपायहरुको बारेमा जानकारी गराईएको हो ।
डिभिजन वन कार्यालय म्याग्दीका डिभिजन वन अधिकृत विष्णु प्रसाद अधिकारीले डढेलो नियन्त्रण सम्वन्धि सचेतनामुलक सामग्री प्रस्तुत गर्नुभएको थियो । उहाँले आफ्नो घर परिवार र समाजमा वन डढेलोका विषयमा सचेतना प्रदान गर्न सहज होस भन्ने उद्देश्यले विद्यार्थीहरु संग अन्तरक्रिया कार्यक्रम गरेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष अमित विश्वकर्मा, प्रकाश माविका शिक्षक कविराम थापा र सहभागि विद्यार्थी उपाशना थापाले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम वन अधिकृत शान्ति कुमारी शाहीको संचालनमा सम्पन्न भएको थियो । सोही अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी हवल्दार गंगा कार्कीले विभिन्न अपराध जन्य गतिविधिहरुबाट टाढा रहन र आपराधिक व्यक्तिहरुबाट सजग रहन विद्यार्थीहरुलाई अनुरोध गर्नुभएको थियो।
‘वन सवैको लागि, सधैँको लागि’ भन्ने मुल नाराका साथ फागुन १ गतेदेखि सुरु भएको सप्ताह अन्तर्गत जिल्लाका ६ वटै स्थानीय तहहरुमा रहेका सव डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता समिति, सामुदायिक वन उपभोक्ता महासंघ, जनप्रतिनिधि, सुरक्षा निकाय र अन्य सरोकारवालाहरुको समन्वय तथा सहभागितामा वन डढेलो नियन्त्रण सम्वन्धि सचेतनामुलक कार्यक्रम संचालन तथा व्रोसर वितरण गरिएको डिभिजन वन अधिकृत अधिकारीले बताउनुभयो ।