बेनी अस्पतालमा डायलासिस गर्नुपर्ने बिरामीलाई लक्षित गरी लायन्स क्लवले रक्तदान कार्यक्रम गरेको छ । ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा १८ जना स्वयंसेवी रक्तदाताहरु सहभागी भई रक्तदान गर्नुभएको छ ।
नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग तथा लायन्स क्लव अफ बेनी महारानी र लायन्स क्लव अफ तातोपानीको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा लायन्स क्लव अन्तराष्ट्रिय ३२५ आई नेपालका निवर्तमान ड्रिष्टिक गर्भनर चन्द्रकुमार केसीको प्रमुख आथित्यता आयोजना गरिएको थियो ।
बेनी नगरपालिकाका मेयर सुरत केसी, रिजन चियरपर्सन सुमन श्रेष्ठ विशिष्ट अतिथि रहेको रक्तदान कार्यक्रममा बेनी अस्पतालमा मृगौला पीडितलाई डायलासिस गर्न रगतको आवश्यकता पर्ने भएकाले रक्तदान गरिएको लायन्स क्लव अफ बेनी महारानीकी अध्यक्ष चन्द्रा घले गुरुङले बताउनुभयो । बेनी अस्पतालमा हाल ४० जना मृगौला पीडितले विभिन्न समयमा डायलासिस गर्ने भएकाले दैनिक रगतको आवश्यकता पर्छ ।
डायलासिस सेवाका लागि मात्रै दैनिक खपत हुने बाहेक प्रसुती सहित अन्य अप्रेसन लगायतका नियमित स्वास्थ्य सेवामा समेत रगतको माग उत्तिकै हुने गरेको छ ।
म्याग्दीमा सबैभन्दा धेरै रक्तदान गर्ने रक्तदाता समेत रहनुभएका बेनी नगरपालिकाका मेयर सुरत केसीले म्याग्दीमा रगतको अभावकै कारण कसैले ज्यान गुमाउन नपरेको र यहाँ संकलन भएको रगतलाई बाहिरी जिल्लामा समेत पठाउने गरेको बताउनुभयो । रगतको अभावकै कारण बिरामीको उपचारमा समस्या भएको जानकारी पाउँदा वित्तिकै रक्तदानका लागि नेपाल रेडक्रस सोसाईटी अन्तरगत सञ्चालन रक्तसञ्चार केन्द्रमा पुग्ने दाताको कुनै कमी छैन ।
बेनीमा संकलन भएको रगत पोखरासम्मका बिरामीको उपचारमा प्रयोग गर्ने गरिन्छ । म्याग्दीमा आपतकालिन र प्रकोपमा परेका व्यक्तिहरु, रक्तस्रावसँग सम्बन्धित रोग वा समस्या भएका,शल्यप्रक्रियामा रहेका बिरामीहरू,गम्भीर रक्तअल्पता भएका गर्भवती महिलाहरू लगायत उपचारमा रगतको आवश्यकता पर्दा करिब डेढ दशक यता रगत अभावकै कारण मृत्युवरण गर्नुपर्ने अवस्था नभएको रक्तसञ्चार केन्द्रले जनाएको छ ।