म्याग्दीको बेनी बजारमा अवस्थित माउण्ट एभरेष्ट आवासीय माविको ३५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मंगलबारदेखि सुरु भएको छ ।
वार्षिकोत्सवको पहिलो दिन कक्षा १ देखि ९ सम्म अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरुलाई बदलिँदो समय, परिवेश र प्रविधिमा अभ्यस्त जीवनशैलीका कारण आफ्ना छोराछोरीहरुमा परेको प्रभाव र अभिभावकको भूमिका विषयमा प्रशिक्षण सम्पन्न भएको छ ।
उक्त अवसरमा विद्यालयका संस्थापक÷ संचालक तथा उत्प्रेरक चन्द्र केसी र पत्रकार विनोद धौलागिरिले आफ्ना छोराछोरीको क्षमतामा कहिल्यै पनि निराश हुन नहुने र उनीहरुलाई हरेक कुराहरुमा सकारात्मक तरिकाबाट बुझ्ने वातावरण बनाइदिनु पर्ने बताउनुभयो ।
व्यक्ति जन्मदै कुनै न कुनै प्रतिभा र क्षमता सहित जन्मने भएकोले उसलाई कसैसँग पनि तुलना गर्न नहुने बताउँदै प्रशिक्षक द्धयले वर्तमान समयमा सकारात्मक सोंच र सिकाइमा सकारात्मक तरिका नै बालबालिकाहरुलाई सही मार्गमा ल्याउने प्रमुख उपाय भएको बताउनुभयो ।
दुई सेसनमा संचालित उक्त कार्यक्रममा अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । तीन दिनसम्म संचालन हुने उक्त कार्यक्रममा विभिन्न किसिमका उत्प्ररणामूलक क्रियाकलापहरु आयोजना गरिएको विद्यालयका प्रिन्सिपल राजु केसीले बताउनुभयो ।
“अब हाम्रो ध्यान पूर्णतया रचनात्मक र बौद्धिक कार्यक्रमहरुमा केन्द्रित हुन्छ । खेलकुद लगाएतका अन्य कार्यक्रमहरु आफ्नो ठाउँमा छन्,विद्यालयले छुट्टै क्यालेण्डर बनाएर बौद्धिक,साहित्यिक लगाएतका रचनात्मक कार्यक्रमहरु आयोजना गर्ने अभियान अन्तर्गत पहिलो कार्यक्रम विद्यालयको वार्षिकोत्सवबाट नै आयोजना गरेको हौँ” प्रिन्सिपल केसीले भन्नुभयो ।
आगामी शुक्रबार सम्पन्न हुने वार्षिकोत्सव कार्यक्रममा यस वर्ष खेलकुद र अन्य मनोरञ्जनात्मक कार्यक्रम भन्दा अन्र्तक्रिया,छलफल र सिर्जनात्मक कार्यक्रमहरु आयोजना गरिएको विद्यालयले जनाएको छ ।
आगामी शुक्रबार जिल्ला र प्रदेश स्तरीय विभिन्न कार्यक्रमहरुमा प्रथम,द्धितीय र तृतीय स्थान प्राप्त गरेका तथा विद्यालयमा आयोजित विभिन्न प्रतियोगिता र परीक्षामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण,दीर्घसेवी शिक्षकहरुलाई सम्मान तथा विद्यालयले पुनःप्रकाशन सुरु गरेको बुद्धिबिम्ब साहित्यिक तथा समसामयिक पत्रिकाको विमोचन गरी कार्यक्रम समापन गरिने विद्यालयका संचालक समेत रहनुभएका प्रिन्सिपल केसीले जानकारी दिनुभयो ।
विद्यालयका संचालक तथा संचालक समितिका अध्यक्ष प्रमोद श्रेष्ठले पानसमा दीप प्रज्वलन सहित संचालकहरुद्धारा संयुक्तरुपमा केट काटेर कार्यक्रमको उद्घाटन गरिएको थियो । सोही अवसरमा विद्यार्थीद्धारा नृत्य पनि प्रस्तुत गरिएको थियो । उद्घाटन कार्यक्रम संचालक समितिका अध्यक्ष प्रमोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply