म्याग्दीका सामुदायिक वन समूहहरू आफैंले हुर्काएको वनलाई वृद्धि–विकासको माध्यम बनाउनका लागि सक्रिय भएका छन् ।जसको कारणले सामुदायिक वनहरु दैनिक रूपमा विकसित र संरक्षित भएका छन् ।

जिल्लाका उच्च,मध्य र तल्लो भेगका सामुदायिक वनलाई व्यवस्थित रुपमा विकास गर्न झाडी फडानी गर्न उपभोक्ताहरु सक्रिय भएका छन् । सोही वनको सरसफाई कार्यक्रममा उपभोक्ताहरु सक्रिय रुपमा लागेपछि वन सम्पदाहरु समेत फस्टाएका छन् ।

सोही वनमा भएका बाक्ला विरुवाहरुको समेत उपभोक्ताहरुले फडानी गरी व्यवस्थित वन बनाउने कार्य गदै आएका हुन् । वन समूहका उपभोक्ताहरु एक साथ भेला भएर आफ्नो वन क्षेत्रमा फैलिएकोे वनको वृद्धि विकास गर्न चोरी निकासी नियन्त्रण गर्न र आगलागीबाट वन जोगाउने कार्यमा समेत सरिक हुने गरेका छन् ।

जिल्लाका सामुदायिक वन समूहहरु आफ्नो वन क्षेत्रको दिगो विकास र संरक्षणका काममा उपभोक्ताहरुलाई सहभागी गराई सक्रिय हुन थालेपछि वनको दिगो विकासमा सघाउ पुगेको छ ।

गाउँमा ग्याँस चुल्होको प्रयोग बढ्दै र पशुपालन गर्ने कृषकहरुको संख्या घट्दै गएपछि दाउरा स्याउलाको उपयोगमा कमी आउँदा बनजंगल फडानी रोकिएको छ ।

वनमा दाउरा, घाँस र स्याउला लिन गाउँलेहरु जान छोडेपछि म्याग्दीका जंगलहरु हराभरा भएका छन् भने वनमा कुकाठ र झाडी विस्तार हुँदै गएको स्थानीयले बताएका छन् ।

म्याग्दीको बगरफाँट सामुदायिक वन,गौश्वारा सामुदायिक वन, भकिम्ली,अर्मन,बरंजा लगाएतका ६४ वटा सामुदायिक वनहरु अहिले हराभरा भएका जिल्ला वन डिभिजन कार्यालय म्याग्दीले जनाएको छ ।

डेढ दशक अघिसम्म रित्ता रहेका पाखा अहिले बाक्लो वनका रुपमा परिणत भएकोमा बेनी नगरपालिका २ का खड्गबहादुर थापा असाध्यै खुसी हुनुहुन्छ । बगरफाँट सामुदायिक वनको शुरुको र अहिलेको अवस्थाका वारेमा थापाले भन्नुभयो “हामीले संरक्षण गर्ने बेलामा त मरुभूमी जस्तै थियो नि, केही थिएनन बिरुवापात,अहिले त पस्नै नसक्ने भएको छ बन ।”

“पहिले स्थानीयले गाईवस्तु चराउने पुरै रित्तोपाखो थियो । अहिले त्यो सम्झदा त आफैलाई अचम्म लाग्छ । यत्ति छिट्टै यस्तो घना वन वनला भन्ने हामीलाई पनि लागेको थिएन् तर अहिले सबैले आहा, कस्तो राम्रो वन भनेको सुन्दा खुसी लाग्छ” थापाले भन्नुभयो । हुन पनि हो, २०५४ सालमा उनकै अगुवाईमा संरक्षण थाल्नुअघि बगरफाँट सामुदायिक वनको रित्तो पाखो अहिले यस क्षेत्रकै अब्बल सामुदायिक वनका रुपमा विकास भएको छ । संरक्षणमा समुदायले गरेको योगदानले वन हराभरा र पर्यटकीय स्थलका रुपमा समेत विकास हुँदै गएको छ ।

बगरफाँट सामुदायिक वनका पूर्व अध्यक्ष दिलबहादुर घिमिरेले गाउँलेहरु वनजंगलमा जान छोडेका र गाउँमा पक्की घर निर्माण गर्ने क्रम बढेकाले पनि जंगल मौलाउने अवसर पाएको बताउनुहुन्छ । “पहिला पहिला सवै वनमा नै निर्भर रहन्थे,घाँस,दाउरा,स्याउला,काठ सवै वनबाट नै ल्याउनु पर्ने हुन्थ्यो,त्यसैले पहिला पातलिएको वन अहिले गाउँलेहरुले फडानी रोकेपछि मौलाएको हो” पूर्व अध्यक्ष घिमिरेले भन्नुभयो ।

तर पूर्व अध्यक्ष घिमिरेलाई भने रित्तो पाखो संरक्षण गर्ने हो भने घना वन बनाउन सकिन्छ भन्ने बाहिर फेर हिड्डुल गर्दा र जिल्ला वनको एउटा गोष्ठीमा जाँदा सुनेपछि विश्वास पलाएको थियो ।

पुरानो अवस्था सम्झदै घिमिरेले भन्नुभयो “मैले वन संरक्षणका लागि आजभन्दा २० वर्ष पहिलेदेखि नै एउटा योजना वनाएको थिएँ,त्यो योजना गाउँलेलाई पचेन तर पछि आँफै वनको संरक्षण हुन थाल्यो,अहिले खुसी छु ।”सामुदायिक वन उपभोक्ता महासंघ म्याग्दीका अनुसार जिल्लाका ३ सय वढी सामुदायिक वनको अवस्था अहिले सुधार हुँदै गएको पाइएको छ ।

तीनै तहका सरकार तथा वन पैदावार बिक्री गरेर मनग्य आय आर्जन गर्ने समूहले नर्सरी वनको प्रवद्र्धनमा सहयोग पु¥याउने समूहलाई अनुदानको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । विगत २०५१ सालदेखि शुरु भएको सामुदायिक वनको अवधारणा अनुरुप हालसम्म सरकारले सात वटै प्रदेशमा २२ हजार २२२ वन समूहलाई हस्तान्तरण गरिसकेको उहाँले बताउनुभयो ।

देशका कूल सामुदायिक वन समूहमध्ये लगभग ३० प्रतिशत आर्थिक रुपमा कमजोर छन् । कूल वन क्षेत्रको १७ प्रतिशत संरक्षण क्षेत्र बनाउने अन्तर्राष्ट्रिय अभ्यास रहे पनि नेपालमा करीव ४० प्रतिशत वन संरक्षण क्षेत्रको रुपमा छ । त्यसले वनमा आधारित गरिब, आदिवासी, सीमान्तकृत समुदायलाई जीविकोपार्जनमा असहज भएको वन तथा वातावरण क्षेत्रका जानकारहरुले बताएका छन् ।

Leave a Reply